सोमबार २२ मंसिर, २०८२

चार महिने छोराको हत्या गरी भाग्दै गरेका बाबु थानकोटबाट पक्राउ

चार महिने छोराको हत्या गरी भाग्दै गरेका बाबु थानकोटबाट पक्राउ

काठमाडौं । आफ्नै छोरालाई चक्कु प्रहार गरी भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पक्राउ परेका छन्।  

डोटी घर भइ हाल सिनामंगलमा बस्दै आएका २९ वर्षीय (असइ) पुष्कर कार्कीलाई प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आफ्नै छोराको हत्या गरी भाग्दै गरेका कार्कीलाई थानकोटबाट पक्राउ गरिएको जानकारी दिए।

बिरामी छोराको उपचारका विषयमा कार्की र उनकी श्रीमती २५ वर्षीया विष्णा साउदबीच विवाद भएको थियो।

विवादकै क्रममा उनले श्रीमती र ४ महिनाका छोरामाथि चक्कु प्रहार गरेका थिए। छोराको मृत्यु भइसकेको छ भने विष्णाको टाउकोमा चोट लागेको छ। उनको प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कार्की दम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्डको रुपमा कार्यरत रहेको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।