शुक्रबार २६ मंसिर, २०८२

बुल्गेरियामा प्रदर्शनपछि प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचार र कर वृद्धिले आक्रोशित थिए जनता

बुल्गेरियामा प्रदर्शनपछि प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचार र कर वृद्धिले आक्रोशित थिए जनता

काठमाडौं। बुल्गेरियामा भ्रष्टाचार र कर वृद्धिविरुद्ध भड्किएका नागरिकहरूले प्रधानमन्त्री रोसेन जेलियाजकोभलाई राजीनामा दिन बाध्य बनाएका छन् ।

विशाल प्रदर्शनहरूपछि अन्ततः प्रधानमन्त्री जेलियाजकोभ झुकेका हुन् । प्रदर्शनमा उत्रिएका लाखौं मानिसहरूले सडकमा उत्रिए भने संसद भवनमा ‘राजीनामा’ र ‘माफिया आउट’ जस्ता सन्देशहरू लेजरद्वारा प्रवाहित गरेका थिए।

लगातारको दबाबबीच प्रधानमन्त्रीले बिहीबार टिभीमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

सरकारको आर्थिक नीति, लाभांश करमा वृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता आक्रोशित भएका थिए।

विपक्षीले सरकारले बढ्दो खर्चको बोझ सिधै नागरिकहरूमाथि थोपर्न खोजेको आरोप लगाएका थिए । बुल्गेरिया जनवरी १ मा यूरोजोनमा सामेल हुन गइरहेको छ तर त्यसअघि नै प्रधानमन्त्रीको राजीनामाले ठूलो राजनीतिक झट्का दिएको छ।

विरोधका कारण सरकारले २०२६ को युरो-बजेट पनि फिर्ता लिनुपरेको छ। बुल्गेरियामा सन् २०२१ पछि ७ वटा चुनाव भइसकेका छन्।

प्रधानमन्त्रीको राजीनामासँगै राष्ट्रपति रुमेन रादेवले संसदलाई नयाँ सरकार गठन गर्न निर्देशन दिनेछन्।

यदि दलहरू सहमत भएनन् भने देशलाई आठौं चुनावसम्म सञ्चालन गर्न अन्तरिम सरकार नियुक्त गरिनेछ। प्रदर्शनकारीहरूले सुधारहरू नभए आन्दोलन अझ उग्र हुने चेतावनी दिएका छन् ।