मंगलबार ०१ पुस, २०८२

सेनाको पाइलटदेखि पूर्वराजाको भान्जासम्म बनेर करोडौँ ठगी गरेका अनुप

सेनाको पाइलटदेखि पूर्वराजाको भान्जासम्म बनेर करोडौँ ठगी गरेका अनुप

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा केही दिनअघि एकैपटक ४८ जना युवाहरू उजुरी लिएर पुगे । उनीहरूको एउटै गुनासो थियो– बेलायत पठाइदिने आश्वासनमा करोडौं रुपैयाँ ठगी भयो, कारबाही गरियोस् ।

एकैपटक ठूलो संख्यामा उजुरी परेपछि प्रहरीले विशेष चासोका साथ अनुसन्धान अघि बढायो । अनुसन्धानकै क्रममा ठगी गरेर फरार हुन खोज्दै गरेका अनुप सिंह नामका व्यक्तिलाई झापाबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउँदै करिब ६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार सुरुमा ४८ जना र पछि थप १३ जनाले सिंहविरुद्ध उजुरी दिएका छन् । पीडित र ठगी रकमको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

सिंहले पछिल्लो समय बेलायत पठाइदिने भन्दै ठगी गर्दै आएका थिए । बेलायतमा होटल खोलेको र त्यहाँ कामदार आवश्यक भएको भन्दै युवाहरूलाई प्रलोभनमा पारेको प्रहरीले बताएको छ । विश्वास दिलाउन उनले काठमाडौँको ज्ञानेश्वरमा भव्य कार्यालय सञ्चालन गरेको र विभिन्न कागजात देखाउने गरेको पाइएको छ ।

यसरी विश्वास जितेपछि प्रतिव्यक्ति २० लाख रुपैयाँ लाग्ने भन्दै रकम उठाउने गरेको खुलेको छ । हाल सिंह प्रहरी हिरासतमा छन् । उनले आफूलाई हिमानी ट्रस्टसँग आबद्ध व्यक्ति तथा पूर्वराजा ज्ञानेन्द्रको भान्जा बताउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

यसअघि पनि सिंहले हिमानी ट्रस्टको नाम प्रयोग गर्दै खेलाडीहरूलाई कपडा वितरण गरेको, हेलिकप्टरमार्फत काठमाडौं–पोखरा यात्रा गरेको जस्ता गतिविधि देखाएर आफू शक्तिशाली व्यक्तिसँग जोडिएको भ्रम सिर्जना गर्ने गरेको प्रहरीको भनाइ छ । तर अनुसन्धानका क्रममा सिंहको पूर्वराजा वा राजपरिवारसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार सिंह यसअघि पनि सात पटकसम्म विभिन्न कसुरमा पक्राउ परेर मुद्दा खेपिसकेका व्यक्ति हुन् । उनीमाथि यसअघि सवा करोड रुपैयाँ ठगी गरेको आरोपमा समेत मुद्दा चलेको थियो । गत वर्ष फागुनमा ललितपुर प्रहरीले किर्ते र ठगीको आरोपमा उनलाई पक्राउ गरेको थियो ।

त्यसबेला उनले एक महिलाको परिवारलाई अमेरिका लैजाने भन्दै सवा करोड रुपैयाँ ठगी गरेका थिए । आफूलाई नेपाली सेनाको विमान चालक क्याप्टेन भन्दै आर्मी पोशाकमा खिचिएको तस्बिर र नक्कली अमेरिकी भिसासमेत देखाएर विश्वास दिलाएको उजुरीमा उल्लेख छ ।

कहिलेकाहीँ उनले पारस शाहकी छोरीको इन्गेजमेन्ट अमेरिका हुने भन्दै त्यही कार्यक्रममा लैजाने प्रलोभन देखाउने गरेको पनि खुलेको छ । विभिन्न व्यक्तिलाई कहिले सेनाको क्याप्टेन, कहिले पूर्वराजाको भान्जा त कहिले दूतावाससँग नजिकको व्यक्ति बताउँदै ठगी गर्ने गरेको प्रहरीको निष्कर्ष छ ।

सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार सिंहविरुद्ध पहिलो पटक २०५७ सालमा सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहार) को मुद्दा चलेको थियो । त्यसपछि २०७३, २०७७, २०८०, २०८१ र हाल २०८२ सालसम्म आइपुग्दा ठगी, हातहतियार तथा खरखजाना जस्ता कसुरमा लगातार मुद्दा चल्दै आएको देखिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र पीडितहरूलाई उजुरी दिन आग्रह गरेको छ ।