चाइनिज किराना सामानसहित एक टिपर नियन्त्रणमा
काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार क्षेत्रमा बिल, बिजक र भन्सार प्रज्ञापन पत्रविनै ल्याइँदै गरेको चाइनिज किराना सामानसहित एक मिनी टिपर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार राति करिब १२ बजे तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा४ख ५८६४ नम्बरको आइचर (मिनी टिपर) गाडी चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १६ नं हे.क्वा, बन्देउका प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाँले जानकारी दिए ।
उनका अनुसार गाडीभित्र बिल–भन्सार कागजात नभएको अन्दाजी मूल्य ७ लाख २२ हजार १० रुपैयाँ बराबरको विभिन्न चाइनिज किराना सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरीक्षक मजगैयाँका अनुसार सवारी चालक बाह्रबिसे नगरपालिका–६, मान्द्राका शिवलाल तामाङलाई गाडी र सामानसहित नियन्त्रणमा लिइएको हो ।
अन्दाजी १५ लाख रुपैयाँ मूल्यको गाडी र ७ लाख २२ हजार बराबरको सामान समेत गरेर २२ लाख २२ हजार रुपैयाँ बराबरको गाडी तथा सामान बरामद गरिएको छ ।
बरामद गाडी, सामान र चालकलाई आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।
सीमावर्ती नाकाबाट अवैध रूपमा भित्रिने सामानको ओसारपसार रोक्न निगरानी कडा पारिएको मजगैंयाले बताए ।
