कृषि विकास बैंकको नयाँ रणनीति : कुल कर्जाको ५०% कृषि क्षेत्रमा लगानी
काठमाडौं। कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल कर्जाको ५० प्रतिशत कृषि क्षेत्रमै लगानी गर्ने रणनीति अघि सारेको छ।
बैंकका अध्यक्ष डिमप्रसाद पौडेलका अनुसार आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसाय, उत्पादन तथा व्यावसायिक परियोजनाहरूमा प्राथमिकता दिइएको छ।
अध्यक्ष पौडेलले भने, “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न कृषि क्षेत्रमा कर्जा विस्तार गरिएको छ। उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्मको सम्पूर्ण कृषि मूल्य शृंखलामा लगानी प्रवाह भइरहेको छ।”
बैंकले वन तथा वनपैदावारसम्बन्धी व्यवसायका लागि पनि कर्जा प्रवाह गरिरहेको छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान पुग्ने परियोजना, निर्माण, ऊर्जा तथा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कर्जा कार्यक्रम सञ्चालन भइरहेको छ।
कृषि रूपान्तरणका लागि किसान कार्ड र किसान मोबाइल एपमार्फत डिजिटल वित्तीय सेवा पनि विस्तार गरिएको छ। साथै, किसानहरूलाई कृषि ज्ञान, परामर्श र बजारसम्मको पहुँच बढाउन प्रयास जारी छ।
बैंकले कर्जा व्यवसायमा गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय कार्यालयबाट कर्जा स्वीकृतिको व्यवस्था पूर्ण रूपमा लागू गरेको छ। यसले कर्जा सम्पत्तिको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।
