मंगलबार ०१ पुस, २०८२

सरकारको आम्दानी–खर्चमा डेढ खर्बको खाडल, पूँजीगत खर्च सुस्त

सरकारको आम्दानी–खर्चमा डेढ खर्बको खाडल,  पूँजीगत खर्च सुस्त

काठमाडौं चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (साउन–मंसिर) सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ।

तर, यस अवधिमा खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड पुगेको हुँदा १ खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट अपुग देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो अपुग पूर्ति गर्न सरकारले सार्वजनिक ऋणमा निर्भर रहनुपर्छ। चालु खर्चलाई राजस्वले धान्न मुस्किल भइरहेको छ। मंसिर मसान्तसम्म राजस्वबाट ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ मात्र आम्दानी भएको छ।

पूँजीगत खर्च सुस्त

पहिलो पाँच महिनामा पूँजीगत खर्च ३३ अर्ब ८७ करोड मात्र भएको छ, जुन वार्षिक लक्ष्यको ८.३ प्रतिशत हो। यस वर्ष कुल १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयन भइरहेको छ, जसमा पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ८८ करोड, चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको छ।

राजस्व संकलन लक्ष्यभन्दा कम

अर्थ मन्त्रालयका अनुसार चालु आव मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ। यो पाँच महिनाको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोडको ७८.७४ प्रतिशत मात्र हो। मंसिर महिनामा मात्रै ८० अर्ब २७ करोड राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो।

आयकर संकलनमा ठूलो अन्तर

सबैभन्दा ठूलो अन्तर आयकरमा देखिएको छ। यस वर्ष पाँच महिनामा आयकर लक्ष्य १ खर्ब ११ अर्ब ७८ करोड राखिएको थियो तर ७४ अर्ब २६ करोड मात्र संकलन भएको छ। यसका अतिरिक्त भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क पनि लक्ष्यभन्दा कम उठेको छ।