राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
काठमाडाैं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मंगलवार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गर्नुभयो ।
कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।
शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिनुभयो ।
मन्त्रिपरिषद्को सोमवारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो ।
