शुक्रबार ०४ पुस, २०८२

'राष्ट्र बैंकले साना व्यवसायीका लागि लगानी प्रवाह बढाउने तयारी'

'राष्ट्र बैंकले साना व्यवसायीका लागि लगानी प्रवाह बढाउने तयारी'

काठमाडौं – नेपाल राष्ट्र बैंकले साना व्यवसायी केन्द्रित लगानीको नयाँ नीति लागू गर्ने तयारी गरेको छ। बैंकवित्तमा अत्यधिक तरलता संकलन भएपछि त्यसलाई व्यवस्थित गर्न र अर्थतन्त्रमा लगानी प्रवाह बढाउन केन्द्रीय बैंकले यो कदम चाल्ने भएको हो।

हाल नेपालका बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना व्यवसायी र कृषिमा आधारित कर्जामा बैंकहरू अग्रसर हुन निर्देशन दिएका छन्। गभर्नर पौडेलले बैंकका सीइओहरूसँगको छलफलमा साना व्यवसायीमा लगानी बढाउन आग्रह गरेका छन्।

तर, छलफलमा बैंकका सीइओहरूले लगानीमैत्री वातावरणको अभावले गर्दा कर्जा प्रवाह हुन नसकेको बताएका छन्। उनीहरूले हालको राजनीतिक–सुरक्षा अवस्था र कमजोर लगानी वातावरणले कर्जा वितरणमा चुनौती उत्पन्न गरेको बताए।

गभर्नर पौडेलले भने, “स्थानीय तहमा उद्यमशीलता बढाउन र कृषि कर्जामा लगानी प्रवाह गर्न सके अर्थतन्त्रमा सकारात्मक योगदान पुग्छ।” उनले कर्जाको वितरण, किस्ता र ब्याज भुक्तानीमा नयाँ डिजाइन गर्न बैंकहरूलाई सुझाव दिएका छन्। साथै, लगानी अघि बजार र व्यवसाय विश्लेषण आवश्यक रहेको पनि जोड दिए।

बैंकवित्तमा हाल ब्याज तिर्नकै लागि थप ऋण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसका कारण तोकिएको प्रयोजनमा कर्जा खर्च नहुने, र कतिपय अवस्थामा परियोजना नै सञ्चालन नगरी ऋण चलाउने जस्ता समस्याहरू देखिएका छन्।

राष्ट्र बैंकले हाल बैंकहरूको मुद्दति निक्षेपमा ४ अर्ब बढी रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। यस अन्तर्गत वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड, र वित्त कम्पनीमा २१ करोड रुपैयाँ लगानी गरिनेछ।

केन्द्रीय बैंकका अनुसार अर्थतन्त्रमा मन्दी र कर्जा नतिर्ने प्रवृत्ति बढ्दा कालो सूचीमा पर्ने व्यवसायीको संख्या बढेको छ। पछिल्ला महिनामा केवल चार महिनामा २० हजार व्यवसायी कालो सूचीमा थपिएका छन्। हाल करिब एक लाख ५० हजार व्यवसायी कालो सूचीमा परेका छन्।

गभर्नर पौडेलले साना व्यवसायीको पहुँचमा कर्जा पु¥याउन नसक्ने अवस्था सुधार्न आवश्यक ठानेका छन्। यसले रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्रको विकास र लगानी वातावरणको मजबुतीमा योगदान पुर्याउने विश्वास गरिएको छ।