शनिबार १७ माघ, २०८२

कोरला नाका : धमाधम भित्रिदैंछन् विद्युतीय सवारी साधन

कोरला नाका : धमाधम भित्रिदैंछन् विद्युतीय सवारी साधन

काठमाडौं । उपल्लो मुस्ताङमा बिहान–बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने गरेको छ । अत्यधिक चिसोका कारण नेपाल–चीन २४ नम्बर सीमास्तम्भ आसपासका स्थानीय व्यवसायी जाडो छल्न बेंसी झरिसकेका छन् भने छोसेर, लोमान्थाङलगायतका बस्तीमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्ट बन्द छन् ।

कठ्याङ्ग्रिँदो चिसो र सुनसान बस्तीका बाबजुद चीनको तिब्बत स्वायत्त प्रदेशबाट कोरला (लिजी–नेचुङ) नाका हुँदै विद्युतीय सवारीसाधन (इभी) भने निरन्तर भित्रिरहेका छन् । पछिल्लो तीन दिनमा मात्र चीनको झोङवासेन जिल्लाबाट करिब २०० वटा विद्युतीय गाडी लोमान्थाङ गाउँपालिका–२ नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई नेपाल भित्रिएको छ ।

भन्सार कार्यालय प्रमुख रमेश खड्काका अनुसार हाल भन्सार कार्यालयको पार्किङ स्थलमै १०० भन्दा बढी चिनियाँ ‘बिवाइडी’ ब्रान्डका विद्युतीय गाडी रहेका छन् । “विद्युतीय सवारीसाधनको चाप धेरै छ, अत्यधिक चिसोका बाबजुद पनि बाँकी सवारी साधन जाँचपास गरी पठाइरहेका छौं,” उहाँले भन्नुभयो ।

पुस महिनामा पैठारी घट्ने अनुमान गरिए पनि विद्युतीय सवारीसाधनसँगै अन्य उपकरण तथा सामग्री बोकेका मालवाहक ट्रक र कन्टेनरसमेत नियमित रूपमा भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । कोरला नाका हुँदै थप सामान आउने क्रम जारी रहेकाले भन्सार क्षेत्रमा चालक तथा कामदारको चहलपहल बढेको छ ।

भित्रिएका विद्युतीय सवारीसाधन चालकहरूले आफैं गुडाएर पोखरासम्म लैजाने गरेका छन् । चिसोका कारण इभी चार्जिङ स्टेशनमा भने अत्यधिक चाप देखिएको छ । बिहान र बेलुकीको समयमा माइनस तापक्रम हुँदा कोरला नाकाबाट करिब १४ किलोमिटर दूरीमा रहेको भन्सार कार्यालयसम्म जमेको बरफ फुटाउँदै सवारी तथा मालसामान ल्याउनुपर्ने बाध्यता रहेको छ ।

मुस्ताङ भन्सार कार्यालयले पुस ८ गतेसम्म ४ अर्ब ९७ करोड ९९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ । यस अवधिमा १ हजार ९ सय ७४ वटा विद्युतीय सवारीसहित १ हजार ६ सय २० कन्टेनरमार्फत विभिन्न सामान पैठारी भएका छन् । निकासीतर्फ भने १२१ वटा मालवाहक कन्टेनरमार्फत हस्तकला, कपडा लगायत नेपालमै उत्पादन भएका सामग्री निर्यात गरिएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार विसं २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन भएको कोरला नाका चालु आर्थिक वर्ष २०८२/८३ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

हाल भन्सारबाट जाँचपास भएका सवारीसाधन १८६ किलोमिटर लामो कोरला–जोमसोम–बेनी सडकखण्डको अवस्था कमजोर हुँदा ठूला कन्टेनर सञ्चालनमा समस्या भइरहेको छ । कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्न करिब २५१ किलोमिटर सडक यात्रा गर्नुपर्ने अवस्था छ ।

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाका सन् १९६० को दशकमा तिब्बत चीनमा गाभिएपछि बन्द भएको थियो । भन्सार कार्यालय व्यावसायिक रूपमा सञ्चालनमा आएपछि भने उपल्लो मुस्ताङका बासिन्दालाई रोजगारी, व्यापार तथा सामान निर्यातमा नयाँ अवसर सिर्जना भएको स्थानीयको भनाइ छ ।