सोमबार १९ माघ, २०८२

बहुदरमाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बहुदरमाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे ठेक्का प्रकियामा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर २ को बैरिया प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो ।

सार्वजनिक खरिद ऐन अनुसार उक्त टेण्डरको सूचना राष्ट्रिय वा स्थानीय पत्रिकामा सार्वजनिक गर्नुपर्नेमा आरोपीहरूले मिलेमतो गरी सूचना लुकाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । 

सूचना लुकाउने र आफ्ना नजिककका व्यक्तिलाई ठेक्का पार्ने उद्देश्यले स्थानीय जनप्रतिबिम्ब दैनिक पत्रिकामा सूचना प्रकाशित नै नगरी अभिलेखका लागि मात्र एक प्रति पत्रिकामा नक्कली सूचना छापेको पाइएको अख्तियारको दाबी छ ।

प्रेस काउन्सिल नेपालको अभिलेख प्रणालीमा रहेको उक्त मितिको पत्रिकाको हार्डकपी र पीडीएफमा कुनै पनि बोलपत्रको सूचना नदेखिएको आयोगको ठहर छ । पत्रिकामा सूचना नै नछापी छापेको भन्दै नक्कली बिल भरपाई बनाएर ६५ हजार रुपैयाँ भुक्तानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत भएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

आरोपी तीनैजनाविरूद्ध जनही ६५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो मागदाबी गरिएको छ । प्रशासकीय अधिकृत मुस्तफा र सहलेखापाल साहलाई मुख्य कसुरदार र सम्पादक साहलाई मतियारको रूपमा कारबाहीको माग गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् ।