तापक्रम बढ्दै, खर्क घट्दै: मनाङमा चौँरीपालन किन संकटमा ?
मनाङ । नेपालको गण्डकी प्रदेशको उत्तरी भेगमा अवस्थित हिमालपारिको जिल्ला मनाङका खर्कहरुमा यतिबेला मुस्किलले चौँरी देखिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा ढुङ्गा माटो धेरै र हरिया घाँस कम देखिन थालेका छन् । जाडो मौसममा किसानले आफ्नो घरवरपर पाइने आहारा खोजेर याकचौँरीलाई खुवाउने गर्छन् । दश वर्षदेखि याकचौँरीपालन गर्दै आएका मनाङको नासोँ गाउँपालिका–४ ओडार गाउँका याकचौँरीपालक किसान सुरेश थकालीले समयमै हिउँ नपर्ने र खडेरी पनि लामो समय भइराख्ने भएकाले मनाङवासीले पानीका मुहान सुक्दै गएको बताए । उनी भन्छन्, “पहिले पहिले जताततै खर्कमा घाँस प्रशस्त पाइन्थ्यो । अहिले चरन क्षेत्र र पानीको मुहान सुक्दै जाँदा याकचौँरीपालनमा समस्या बढ्दै गएको छ ।”
थकालीसँग अहिले ७० वटा याकचौँरी छन् । घाँसको अभावमा थकालीले बजारबाट किनेर ल्याएको नाइट्रोजनको दाना खुवाएर पाल्ने गरेको बताए । “करिब पाँचदेखि १० वर्षको अन्तरालमा कुनै वर्ष बढी पानी र हिउँपर्ने हुन्छ भने कुनै वर्ष न पानी न हिउँ पर्छ,” किसान थकाली भन्छन्, “सन् २०२० मा भएको अत्यधिक हिमपातले जनजीवन मात्रै नभई याकचौँरीलाई आहार पु-याउन समस्या भयो ।” अत्यधिक चिसो र हरियो घाँसपात तथा अन्य पौष्टिक आहारको कमीले मनाङमा सयौँ किसानका गोठ खाली भएको अनुभव थकालीले सुनाए ।
मनाङको नाम्के खर्क, क्याङ, माथिल्लो मनाङ, आइसेलेक क्षेत्रमा अनावृष्टि र अतिवृष्टि हुँदा पशुपालनमा मात्रै नभई भू–क्षय जस्ता विपदबाट स्थानीय किसानलाई चौँरीपालनमा थप समस्या भएको स्थानीय बताउँछन् । वर्षा र हिमपात पर्ने समय फेरिएकाले किसानको चौँरीपालन गर्ने आत्मविश्वास घट्दै गएको थकाली बताउँछन् । हिमपहिरो जानु, हिमताल सुक्नु, याकचौँरीका खर्क (घाँसे मैदान) बगरमा परिणत हुँदै गएको मनाङका स्थानीय बासिन्दा बताउँछन् । पानीको अभावले घाँसे मैदान बगरमा परिणत भएपछि याकचौँरीलाई आहार पु-याउन चुनौतीपूर्ण भएको उनीहरुको भनाइ छ ।
नासोँ गाउँपालिका–४ ओडारका चौँरीपालक किसान खरमान गुरुङ भन्छन्, “विगतमा हिउँपर्ने समय एउटै हुन्थ्यो । अहिले कुन बेला हिउँ पर्छ भन्ने थाहा हुँदैन ।” पहिले हिमपात हुने समयमा बढी चिसो भएपछि गोठ सार्ने गरिन्थ्यो तर अहिले हिउँ पर्ने समयको ठेगान नै नहुँदा पशुचौपायाको आहार व्यवस्थापन गर्न सकस हुने उनले बताए । पाँच वर्षअघि भएको हिमपातमा गुरुङका ६३ वटा याकचौँरी मरेका थिए । त्यसपछि थप चौँरी पाल्न आँट नगरेको उनले बताए । “पानी र खडेरीको विपदले हामी किसान हतोत्साहित भएका छौँ, कहिले हिमपातले त कहिले गर्मीले याकचौँरी मर्छन्,” गुरुङ भन्छन् । राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार नेपालमा हिमाली क्षेत्रमा बसोबास गर्ने १० हजार परिवारको जीविकोपार्जनको प्रमुख स्रोत याकचौँरीपालन हो ।
पछिल्ला वर्षमा बढ्दो खडेरीका कारण पानीका मुहान सुक्ने र नयाँ घाँसपात पलाउन नसक्ने समस्या देखिएपछि चौँरीपालन व्यवसाय कष्टकर बन्दै गएको छ । याकमा आधारित उनीहरुको सांस्कृतिक पहिचान र सामाजिक जीवनशैलीमा समेत गहिरो सङ्कट सिर्जना भएको छ । चौँरी हिमाली समुदायका लागि जीविकोपार्जनसँगै धार्मिक आस्था, संस्कार र सांस्कृतिक पहिचानसँग गहिरो रुपमा जोडिएको आधारशीला हो । तर याकचौँरीपालन घट्दै जाँदा घ्यू, दही र छुर्पीजस्ता परम्परागत वस्तुसँगै खर्क संस्कृति, चाडपर्व र दैनिक जीवनशैली नै सङ्कटमा पर्दै गएको नारका ८४ वर्षीय साङ्मा टासी लामाले बताए ।
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा हाल ७१ हजार ९१३ याक/नाक/चौँरी रहेका छन् । सन् १९६० को दशकमा यसको सङ्ख्या करिब दुई लाख थियो । तथ्याङ्कअनुसार याकको सङ्ख्या पछिल्ला तीन वर्षमा १५ प्रतिशतले वृद्धि भएको छ । मन्त्रालयका अनुसार ६० प्रतिशत चौँरी खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । खर्कमै दूध, घ्यू, छुर्पी र पनिर उत्पादन गरिन्छ ।
जलवायुको प्रभाव
विश्वभर जलवायु परिवर्तनको असर नेपालमा पनि प्रत्यक्ष रुपमा देखिएको छ । यसको असर बढी हिमाली क्षेत्रमा पर्दा यहाँका खेतीपातीका साथै पशुपालनमा पनि समस्या पर्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोहन लामिछानेले जानकारी दिए । “पछिल्लो समय विशेष गरेर हिमाली क्षेत्रमा अझ बढी प्रभाव परेको देखिएको छ,” उनले भने, “प्रत्येक वर्ष तापक्रम बढ्दै जाँदा आवश्यकताभन्दा बढी पानी तथा हिमपात हुने मौसमी प्रणाली देखिन्थ्यो तर अहिले सक्रिय मौसमी प्रणाली देखिएको छैन ।”
हिमाली क्षेत्रमा तापक्रम वृद्धिले कृषि र पशुपालन प्रभावित भएको बताउँदै उनले भने, “जति तापक्रम बढ्दै जान्छ, त्यति नै पशुपालन र कृषि क्षेत्रमा असर पर्छ । तापक्रम वृद्धिले नै बाढी, पहिरोलगायतका विपद् आउँछन् ।” सुख्खापनले कृषि र पशुपालनमा प्रभाव पारेको देखिएको उनले बताए । विगतमा एउटै समयमा हिमपात तथा पानी पर्ने अभिलेख रहेको र सन् २०२१ मा थोरै समयमा धेरै वर्षा हुँदा हिमाली क्षेत्रका बस्ती, चरन क्षेत्र र खेतीयोग्य जमिनमा क्षति पुगेको उनले बताए ।
सन् २०२० मा भारी हिमपात र सन् २०२५ मा अकस्मात् हिमपात तथा वर्षाले प्रभाव पारेको अभिलेख रहेको उनको भनाइ छ । हिमाली क्षेत्रमा छिटोछिटो मौसम परिवर्तन हुँदा बालीनाली फरिने देखिएको लामिछाने बताउँछन् । हिमाली क्षेत्रमा पहिले उत्पादन वा बिरुवा हुर्कनै नसक्ने ठाउँमा अहिले उत्पादन देखिन थालेको छ । हिउँसँग सम्बन्धित पशुपालनका रुपमा रहेको याकचौँरीपालन तापक्रम वृद्धि हुँदै जाँदा लोप हुने अवस्थामा पुग्न सक्ने उनको अनुमान छ ।
“तापक्रम वृद्धि हुँदै जाँदा कसरी एड्याप्टिभ हुने र जनावर तथा मानवलाई एड्याप्टिभ बनाउने भन्नेमा ध्यान दिनुपर्छ । कुन व्यवसाय र गाईभैँसी पालन विकास गर्न सकिन्छ भन्ने विषयमा जलवायु परिवर्तनमैत्री अध्ययन गरेर लाग्नुपर्छ,” उनले भने ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले याकको सङ्ख्या घट्दै जानुमा जलवायु परिवर्तनको प्रभाव र युवाको वैकल्पिक रोजगारीप्रतिको आकर्षण कारण भएको बताए । नासोँ गाउँपालिका–८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा याकचौँरी र भेडाच्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको बताए । “हिउँ परेपछि मात्रै यहाँ पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ,” उनी भन्छन्, “एउटै गोठमा २०० भन्दा माथि याकचौँरी र भेडाच्याङ्ग्रा पालिन्छन् । आफैँले घाँस र दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन ।” करिब पुसदेखि फागुन–चैतसम्म याकचौँरी र भेडाच्याङ्ग्रालाई घाँसको समस्या हुने उनले बताए । जौ, करु, उवा, गहुँ, कोलो बोडी र फापरका डाँठ गाईगोरु र याकचौँरीलाई त भए पनि भेडाच्याङ्ग्रालाई घाँस पु¥याउन नसकिने उनको भनाइ छ ।
उच्च हिमाली क्षेत्रमा तापक्रम १.५–२ डिग्री सेल्सियसले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । “यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको छ,” उनी भन्छन्, “तापक्रम वृद्धिकै कारण हिउँ पग्लिँदै गएका छन्, पानीका स्रोत सुक्ने क्रम बढ्दो छ, जसले खर्क, पशुपक्षी र मानवलाई प्रभाव पारेको छ ।” कायस्थका अनुसार सिँचाइको अभावले चरन भूमि सुक्खा बन्दै गएका छन् । पहिले हराभरा देखिने चौँरी खर्क धेरै स्थानमा चिरा परेका छन् । कतिपय स्थानमा पानीको अभाव र पहिरोका कारण माटो कटान हुँदा चरनयोग्य भूमि घटेको छ । चरन भूमिको अभावले किसानले याकचौँरीपालन कम गर्दै गएको हुनसक्ने उनको भनाइ छ ।
हिमाली क्षेत्रमा सुख्खापन बढ्दै गएपछि याकचौँरीलाई आवश्यक पौष्टिक घाँसपात र औषधीय जडीबुटी हराउँदै गएका छन् । हिउँ कम पर्दा हिमरेखा माथि सर्दै गएको छ । कात्तिक अन्तिम सातादेखि मङ्सिर पहिलो साताभित्र चिसोका कारण खर्कबाट याकचौँरीलाई तल्लो खर्कमा सार्ने प्रचलन थियो । घाँसे मैदान प्रशस्त हुँदा याकचौँरीको मलमूत्रले हरित वृद्धि बढाउँदै आएकोमा अहिले पानीका मुहान सुक्दा घाँसे मैदान नै मासिँदै गएका छन् । राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत आभास पौडेलका अनुसार तापक्रम वृद्धिका कारण याकमा किर्ना र झिँगा बस्ने समस्या बढेकाले याक मर्ने थालेको गुनासो आउने गरेको छ ।
वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणालीमा विद्यावारिधि गरेका श्यामकुमार थापाका अनुसार जलवायु परिवर्तनका कारण चिसो मौसममा हिमालमा हिउँ नपर्ने र गर्मीमा खर्कमा पानी अभाव हुँदा हिमाली भेगका वनस्पति र बुट्यान मर्दै जाने समस्या देखिन थालेको छ । चरन घट्दै गएपछि स्थानीय बासिन्दाले चौँरीपालनको वैकल्पिक व्यवसाय खोज्न थालेका छन् । जलवायु परिवर्तनका विज्ञ उत्तमबाबु श्रेष्ठका अनुसार जहाँ खर्क छन्, त्यहाँ तापक्रम वृद्धिदर सरदरभन्दा बढी देखिएको छ । कर्णालीका हिमाली जिल्लामा लामो समय खडेरी हुँदा घाँस सुक्ने, गुणस्तर र मात्रा घट्ने समस्या देखिएको उनको भनाइ छ ।
बजारको समस्या
हिमाली क्षेत्रमा प्रतिचौँरी वार्षिक औसत ३०० लिटर दूध उत्पादन हुने कृषि तथा पशुपक्षी विभागले जनाएको छ । विभागका अनुसार वार्षिक करिब चार हजार मेट्रिक टन घ्यू, आठ हजार मेट्रिक टन छुर्पी र पनिर तीन हजार मेट्रिक टन चौँरीको दूधबाट उत्पादन हुँदै आएको छ । एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत पाँचदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अनुमान छ । छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँको आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ । याकचौँरीपालन घट्दै जाँदा उत्पादनमा कमी आएको स्थानीय बताउँछन् । मनाङका पशुपालक किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजार व्यवस्थापन नहुँदा पलायनको अवस्था सिर्जना भएको छ ।
नेपाल याकचौँरी किसान महासङ्घका केन्द्रीय अध्यक्ष पविहाङ राईका अनुसार बजार अभाव र मूल्य अस्थिरताले किसान निरुत्साहित भएका छन् । आयातित घ्यू र मासुले स्थानीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । आयातितभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके याकचौँरीपालक किसानलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ । चौँरी खर्क समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रुकुम पूर्व, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङलगायत ३१ जिल्लामा व्यावसायिक चौँरीपालक किसान छन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क छन् । तीमध्ये झन्डै १० हजार खर्क सक्रिय रूपमा चौँरीपालनमा प्रयोग भइरहेका छन् । मलेसियन एनिमल हस्बन्डरी जोर्नलले गरेको अनुसन्धानअनुसार सन् २०१७ सम्म याक, नाक र चौँरीपालन वृद्धि भएको थियो भने त्यसपछि क्रमशः घट्दै गएको छ । मनाङमा करिब एक हजार १५० खर्क सक्रिय छन् । मुस्ताङमा ८५०, डोल्पामा एक हजार ३०० र सोलुखुम्बुमा करिब ७५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ र मनाङमा व्यापक चरन क्षेत्र र परम्परागत जीवनशैलीसँग चौँरीपालन जोडिएकाले खर्कको सङ्ख्या बढी छ । दोलखा र ताप्लेजुङमा खेतीयोग्य जमिन बढी भएकाले खर्कको घनत्व कम छ । वैदेशिक रोजगारी, सहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले याकचौँरीपालन घट्दै गएको छ । सिँचाइको अभावले अधिकांश खर्क सङ्कटमा छन् । खर्क नजिकका तालतलैया र पानीका स्रोत हराउँदै गएका छन् ।
देशभर युवा वैदेशिक रोजगारीमा पलायन हुँदा खेतीयोग्य जमिन बाँझिँदै गएको छ र पशुपालन चुनौतीपूर्ण बनेको छ । नार्पाभूमि गाउँपालिका–३ नार गाउँका पशुपालक मिङ्मार छिरिङ लामा भन्छन्, “वैदेशिक रोजगारी र विकटताका कारण गोठाला नपाइनु मुख्य समस्या हो ।” उनका अनुसार नार्पाभूमिमा हरेक वर्ष चार–पाँच परिवारले पशुपालन छाडिरहेका छन् ।
संरक्षणका प्रयास
गण्डकी प्रदेशले लोपोन्मुख याकचौँरी जोगाउन स्याङबोचे सोलुखुम्बुको याक आनुवंशिक स्रोत केन्द्रबाट याक वितरण सुरु गरेको छ । हाडनाताबाट देखिने समस्या समाधान गर्न २०७९ सालदेखि मनाङमा याकचौँरी नश्ल सुधार कार्यक्रम सुरु गरिएको केन्द्रका सूचना अधिकारी रामललन यादवले बताए । शुद्ध नश्लमार्फत उत्पादन बढाउन गाउँमै ब्याड याक वितरण गरिएको उनले बताए । याकचौँरीपालक व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीका अनुसार मनाङमा नौ र मुस्ताङमा १० वटा ब्याड याक वितरण गरिएको थियो ।
चिसो बढेसँगै तीन हजारदेखि पाँच हजार मिटर उचाइका खर्कमा रहेका याकचौँरी एक हजार ७०० मिटर उचाइको बेँसीतर्फ झारिएका छन् । हिउँ पर्नु र चिसो बढ्दा घाँस तथा आहारको अभाव हुने भएकाले किसानले आफैँ घाँस सङ्कलन गरेर खुवाउने गरेका छन् । घाँसको अभाव पूर्ति गर्न जैविक दाना बनाएर खुवाइने गरिएको छ । गहुँ, करु, कोलो बोडी र फापरलगायत रैथाने बालीका डाँठ, दाना र पिठो मिसाएर खुवाइने थकाली बताउँछन् । यसले याकचौँरीको दुर्बलता घटाई पौष्टिक तत्व र भिटामिन पूर्ति गर्ने किसानको भनाइ छ ।
हिमाली जिल्लामा तालतलैया र मुहान सुक्दै गएपछि वैकल्पिक उपायका रूपमा ‘रिचार्ज पोखरी’ निर्माण सुरु गरिएको छ । नासोँ गाउँपालिका–६ स्थित पोङ्कर ताल परिसरमा रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । “मनाङका तालतलैया र प्राकृतिक मुहान सुक्दै गएका छन्, संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो,” उनले भने । तीन वटा रिचार्ज पोखरी निर्माण भइसकेका छन् भने भिमथाङ र तिल्चेमा निर्माण भइरहेको छ । पोखरीबाट याकलाई पानी खुवाउने व्यवस्था गरिएको छ । भिमथाङमा ५० हजार लिटर क्षमताको रिचार्ज पोखरी निर्माण गरिएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न समुद्री सतहबाट चार हजार मिटर उचाइमा रिचार्ज पोखरी निर्माण गरिएको छ ।
