सोमबार १९ माघ, २०८२

इच्छाकामनामा सुन्तला महोत्सव पालिकामा १० करोड रुपैयाँसम्म कारोबार

इच्छाकामनामा सुन्तला महोत्सव पालिकामा १० करोड रुपैयाँसम्म कारोबार

चितवन । स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल प्रारम्भ भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए ।उनका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन् भने इच्छाकामनाका करिब १०० जना सुन्तला उत्पादक किसानले आफ्ना उत्पादनको प्रत्यक्ष बजारीकरण गर्न पाउनेछन् ।

महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्नुका साथै स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल विस्तार गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला विज्ञ किसान र जनप्रतिनिधिबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगिता तथा किसान लक्षित विविध कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । होटल व्यवसायी संघ इच्छाकामना इकाइका अध्यक्ष पुजन भण्डारीका अनुसार पहिलेदेखि नै देश–विदेशमा पहिचान बनाएको मुग्लिन बजारमा फुड फेस्टिवल आयोजना हुँदा स्थानीय होटल व्यवसायीमा उत्साह थपिएको छ ।

महोत्सवमा थकाली र नेवारी खानासँगै इच्छाकामनामा उत्पादन हुने रैथाने बालीका परिकारको स्वाद लिन पाइनेछ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट यस क्षेत्रका किसानले वार्षिक ९ देखि १० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएको जानकारी दिए । यहाँको सुन्तला स्वादिष्ट भएकाले बजारको अभाव नरहेको उनको भनाइ छ ।

सुन्तलाखेती विस्तार र बगैँचा संरक्षणका लागि गाउँपालिकाले प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएका सुन्तलाका बिरुवा वितरण गर्दै आएको अध्यक्ष गुरुङले बताए । साथै नयाँ प्रविधियुक्त सामग्री, टिपाइ, गोडमेल, गोठेमल र सिँचाइ व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको उनले उल्लेख गरे । सुन्तला महोत्सव तथा फुड फेस्टिवलले इच्छाकामनाका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ ।