रेमिट्यान्स बजार प्रतिस्पर्धामा 'आइएमई लिमिटेड' : बाहिरी स्थायित्व, भित्री वित्तीय चुनौती
काठमाडौँ । व्यवसायी चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई लिमिटेड सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा भए पनि कम्पनीको वित्तीय स्थिति कमजोर देखिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १२ लाख ५० हजार कित्ता शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ।
सन् २००१ मा स्थापना भएको र २०१४ मा सार्वजनिक कम्पनी बनेको आइएमईले विश्वका विभिन्न देशबाट भित्रिने रेमिट्यान्समा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै आएको छ। तर पछिल्ला पाँच वर्षको तथ्यांकले कम्पनीको आम्दानी, नाफा क्षमता, तरलता र कार्यशील पूँजी व्यवस्थापनमा कमजोरी देखाएको छ।
सञ्चालन आम्दानी २०२२ मा ९६ करोड ८० लाख रहेकोमा २०२५ मा घटेर ७९ करोड ६० लाखमा सीमित भएको छ। रेमिट्यान्स बजारमा तीव्र प्रतिस्पर्धा, डिजिटल भुक्तानी प्रणालीको वृद्धि र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारले परम्परागत रेमिट्यान्स कम्पनीहरूको कारोबार घटाएको छ।
कम्पनीको आम्दानीमा वैदेशिक मुद्रा विनिमयबाट हुने नाफाको हिस्सा ६५ प्रतिशतभन्दा बढी रहेको छ। यस कारण आम्दानी अस्थिर छ र विनिमय दरमा सानो उतारचढावले पनि कम्पनीको नाफामा ठूलो प्रभाव पार्छ।
आक्रामक लाभांश वितरण नीतिले तरलतालाई थप कमजोर बनाएको छ। आर्थिक वर्ष २०२४ र २०२५ मा कम्पनीले आफ्नै नाफाभन्दा बढी लाभांश वितरण गरेको देखिन्छ।
सञ्चालन नाफा अनुपात पनि अस्थिर छ। २०२५ मा सञ्चालन नाफा ३६ प्रतिशतमा सीमित भएको छ। लागत नियन्त्रण, एजेन्ट कमिसन व्यवस्थापन र सञ्चालन क्षमता कमजोर रहँदा नाफामा प्रभाव परेको छ।
बाह्य दायित्व पनि बढेको छ। कुल बाह्य दायित्व र मूर्त स्वपूँजीको अनुपात २०२५ मा १.८ गुणा पुगेको छ। कम्पनीले आफ्नो ब्याज तिर्ने क्षमता पनि घटाएको छ।
मुख्य शेयरधनी दुई दाजुभाइ, चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल (अध्यक्ष) हुन्, जसले प्रत्येकले ३३.३ प्रतिशत शेयरधनी रहेको छ।
बाहिरी रूपमा ठूलो र स्थापित देखिए पनि कम्पनीको वित्तीय संरचना कमजोर हुँदै गएको छ, जसले भविष्यमा गम्भीर चुनौतीहरू निम्त्याउन सक्नेछ।
