अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसरी संकलित निक्षेपको साँवा तथा ब्याज आगामी २५ पुषमा भुक्तानी गरिनेछ।
निक्षेप संकलन उपकरणअन्तर्गत हुने बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि निरन्तर रूपमा निक्षेप संकलन गर्दै आएको छ।
