आइतबार १८ माघ, २०८२

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, नेप्से उचालियो ४७ अंक

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, नेप्से उचालियो ४७ अंक

काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर लगानीकर्ता पनि उत्साहित भएका छन् । राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश लगानीकर्ता नयाँ राजनीतिक शक्तिको मिलनले आशावादी बनेका हुन् ।

आगामी प्रधानमन्त्री बालेन बन्ने र पार्टी अध्यक्ष रवि लामिछाने रहने गरी भएको सहमतिले नेपाली राजनीतिले आगामी दिन स्थिरता पाउने विश्लेषण गर्न थालिएको छ ।

संसयपूर्ण राजनीतिक वातावरण सकारात्मक दिशातर्फ मोडिएको र आगामी २१ फागुनमा संसदीय निर्वाचन पनि हुने सम्भावना बढेपछि आइतबार सेयर बजार परिसूचक करिब २ प्रतिशत बढेको छ ।

यो साताको पहिलो दिन आइतबार रजि–बालेन सहमति सार्वजनिक भएपछि खुलेको सेयर बजार निरन्तर सुधारको गतिमा देखियो ।

कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से सूचक ४७.५५ अंक बढेर २६३३.४२ अंकमा पुगेको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार आएपछि समग्र बजार सूचक उच्च अंकले बढेको हो । आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

नेप्से सूचक र कारोबार रकममा सुधार आउनु भनेको आगामी दिनमा पनि बजार बढ्ने संकेत गरेको भन्ने बुझिन्छ । सूचीकृत कम्पनीले एकपछि अर्को गर्दै लाभांश घोषणा गर्दा समेत राजनीतिक वातावरण नकारात्मक हुँदा बजारमा सुधार आउन सकेको थिएन । रवि–बालेन सहमति र आइतबारको सेयर बजारको अवस्थाले आगामी दिनमा पनि बजार बढ्ने देखिन्छ ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी कारोबार रकम पनि बढेर साढे ५ अर्बभन्दा माथि पुगेको छ ।

आइतबार मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । त्यसैगरी विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आइतबार नेप्सेमा ३ सय २८ कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २ सय ५९ कारोबारबाट ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ अर्ब १९ करोड रुपैयाँ बराबर सेयर खरिद–बिक्री भएको थियो ।