सिटिजन्स सन्तुलित योजनाको इकाइ ‘ओभरसब्स्क्राइभ्ड’
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको सिटिजन्स म्युचुअल फण्ड अन्तरगत निष्काशन भएको सिटिजन्स सन्तुलित योजनाका इकाई ‘ओभरसब्स्क्राइब’ भएको छ । पुस ४ गतेदेखि निष्काशन भइरहेको इकाईको निष्काशन अवधि पुरा नहुँदै बिक्री भएको हो ।
केन्द्रिय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार पुस १५ गते मंगलबार बिहान १० बजेसम्ममा १० करोड ९ लाख ४५ हजार १८० इकाइका लागि आवेदन परेको हो । सिडिएससीका अनुसार ६३ हजार २७१ वटा आवेदनबाट उक्त संख्यामा फण्डका इकाई माग भएका हुन् । फण्डले निष्काशन गरेकोभन्दा ९ लाख ४५ हजार १८० इकाई बढी माग भएको हो ।
फण्डको न्युनतम ५ करोड इकाईदेखि बढीमा २५ प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बढी गरी १ अर्ब २५ करोड रुपैयाँसम्मको कोष सञ्चालन गर्न सक्ने व्यवस्था छ । यस आधारमा फण्डको आकार १ अर्ब रुपैयाँभन्दा बढी हुन सक्ने देखिन्छ । मंगलबारसम्म परेका आवेदनहरु रुजु गर्ने काम बाँकी रहेको अवस्थामा केहप् आवेदन रद्ध हुन सक्छन् भने अबको ३ दिनमा आउने आवेदनबाट फण्डको आकार अझै बढ्ने देखिन्छ ।
सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । छिटोमा पुस ८ गते इकाई निष्काशन बन्द गर्ने भनिए पनि उल्लेख्य मात्रामा आवेदन नआउँदा ढिलोमा निष्काशन बन्द हुने मिति पुस १८ गतेसम्म निष्काशन अवधि लम्बिएको थियो ।
१० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
