'निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरण पाएको छैन'
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् ।
शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल बढाउन सरकारसँग आग्रह गरिएको बताए ।
उनले निजी क्षेत्रको मनोबल वृद्धि, संरक्षण तथा प्रवद्र्धन महासंघको प्रमुख माग रहेको स्पष्ट पारे । अध्यक्ष ढकालले आसन्न निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै निर्वाचनमा सहभागिताका लागि राजनीतिक दलहरूले देखाएको तत्परताले देश निर्वाचनतर्फ अघि बढेको देखिएको बताए ।
‘यो चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको उदाहरण हो,’ उनले भने, ‘शान्ति र स्थायित्वका लागि हामी विवेकी, लचिलो र प्रतिबद्ध छौं भन्ने कुरा यसले पनि पुष्टि गर्छ । समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको भान परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन ।’
तर समृद्धिका लागि अत्यावश्यक निजी क्षेत्रको संरक्षणको विषय भने अझै ओझेलमा परेको उनले गुनासो गरे । निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता अझै हुन नसकेको उनको भनाइ थियो ।
ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च राख्न सरकार, राजनीतिक दल, युवा पुस्ता र नागरिक समाजबीच सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभाव स्मरण गर्दै उनले आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्न तथा निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति तत्काल मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयन गर्न माग गरे।
ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको उल्लेख गर्दै सुरक्षित लगानी वातावरण, नीतिगत स्थिरता र सम्पत्तिको संरक्षण बिना रोजगारी, राजस्व र विकास सम्भव नहुने बताए।
उनले समयमै निर्वाचनमार्फत राजनीतिक स्थायित्व सुनिश्चित गर्न, निजी क्षेत्रलाई सम्मानित र सुरक्षित रूपमा काम गर्ने वातावरण दिन तथा युवालाई उद्यमशीलतामा जोड्न सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।
