आइतबार १८ माघ, २०८२

बर्दघाटको टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले गरे प्रदर्शन

बर्दघाटको टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले गरे प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।

बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा डिउटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ ।

ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई गराएका थिए ।

घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए ।

उनका अनुसार बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत एक जना नेपाली र एक जना भारतीय मजदुर मृत अवस्थामा फेला परेको छ । घटनास्थलमा मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताए ।

मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् ।

घटनास्थलमा अहिले ३१ जना प्रहरीको टोली खटेर घटनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।