बिजनेस क्लासको टिकटमा आउनेहरुलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छ : ढकाल
काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताएका छन् ।
विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उनले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गरे ।
ढकालकाअनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘कसैले विजनेश क्लासको टिकट किनेको छ र विजनेस क्लासको प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यही अनुसारको सुविधा खोज्छ । हामीले गर्ने डिजिसजनहरु कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीहरुलाई त ठिकै छ तर विदेशीहरुले तिरेको प्रिमियम अनुसारको सुविधा पाएका छैनन् । प्रिमियम तिरेकाहरुलाई सोही अनुसारको सुविधा नपाउँदा बाहिर नकारात्मक सन्देश जान्छ र यसले पर्यटन प्रवद्र्धनमा असर पारिरहेको छ ।’
यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाईं तथा गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्नु राम्रो भएको बताए ।
