राष्ट्र बैंकको प्रक्षेपण– अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने
काठमाडौं । सुस्त रहेको अर्थतन्त्र छिट्टै लयमा फर्कने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । मौद्रिक सहजताका कारण अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक बन्दै गएको भन्दै राष्ट्र बैंकको एक प्रतिवेदनले अर्थतन्त्र चलायमान बन्दै जाने उल्लेख गरेको हो ।
विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृिद्ध सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृिद्ध भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र, यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ मा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान केन्द्रीय बैंकले गरेको छ । अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुर्ननिर्माण कार्य अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकिकरण गरिएको लगायतका कार्यहरुले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहेको प्रतिवेदनमा जनाइएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहँदा कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको उल्लेख गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालकोआर्थिक वृिद्धदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कृषि बालीको उत्पादन ३.७ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भू–क्षेत्र भने २.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । सोही वर्षमा तरकारी उत्पादन १०.१ प्रतिशत र मसला उत्पादन ०.७ प्रतिशतले बढेको छ भने फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन १ प्रतिशत र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन १.० प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन ८.८२ प्रतिशत र दाउरा उत्पादन ४.७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन १.९१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ मा उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८ सय ३४ जना पुगेको छ । यस वर्षमा घर/भवन नक्शा पास संख्या १.२ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व १८.६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतलेर कर्जा प्रवाह ८.२ प्रतिशतले वृिद्ध भएको छ ।
२०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ ।
कुल निक्षेपमा यस प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको छ । समीक्षा वर्षमा यातायात साधनको सवारी दर्ताको सङ्ख्या ३७.८ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा १२३५ कि.मि. कालोपत्रे सडक, २८७ कि.मि. ग्राभेल सडक, ३०१ कि.मि. नयाँ ट्रयाक निर्माण भएको छ भने ३७० कि.मि. सडक मर्मत भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
