आइतबार २७ पुस, २०८२

बाँकेको ‘डल्फिन फिड्स’ मा भेटिएको साढे २ टन अखाद्य मकै नष्ट

बाँकेको ‘डल्फिन फिड्स’ मा भेटिएको साढे २ टन अखाद्य मकै नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित एक उद्योगमा भेटिएको २ हजार ५ सय किलो (साढे २ टन) अखाद्य मकै नष्ट गरेको छ ।

विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले कोहलपुर नगरपालिका–७ स्थित ‘डल्फिन फिड्स प्रालि’ मा भेटिएको उक्त परिमाणको मकै नष्ट गरेको हो ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार १७ मंसिरमा उद्योग अनुगमन गर्दा त्यहाँ ९३ बोरा मकैमा उद्योगले नै ‘कैफियत युक्त’ भनी ट्याग टाँसेर राखेको पाइएको थियो ।

उक्त ९३ बोरा मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत (खराबी) देखिएको र बाँकी ४३ बोरा भने प्रयोगका लागि अनुकूल पाइएको थियो ।

प्रयोगशाला रिपोर्टका आधारमा शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज कोहलपुर–७ का अध्यक्ष र डल्फिन फिड्सका सञ्चालकको रोहबरमा कैफियत देखिएका ५० बोरा मकै नष्ट गरिएको छ ।

५० किलोका दरले हुने जम्मा २ हजार ५ सय किलो उक्त मकैको मूल्य ८२ हजार ५ सय रुपैयाँ बराबर रहेको विभागले जनाएको छ ।