पुरानाले केही गरेनन् भनेको सुन्दा हाँसो लाग्छ : राजेश हमाल
काठमाडौं । महानायक राजेश हमालले जननिर्वाचित सरकारको ठाउँमा चुनावी सरकार हुनु विडम्बना भएको बताएका छन् ।
झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै हमालले लोकतन्त्रमा जननिर्वाचित सरकार नै हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो ।’ उनले अहिले देश कस्तो बनाउने र अहिलेका समस्या कसरी समाधान गर्ने भनेर सोचविचार गरेर जनप्रतिनिधि छान्नुपर्ने बताए ।
उनले अगाडि भने, ‘अहिले धेरैले भनेको सुन्छु— पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो । तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ?’
उनले यसअघि सरकारको नेतृत्वमा पुगेकाहरू पनि सिस्टम बाटै आएको भन्दै प्रणाली सुधार्न जनसमुदायको प्रमुख हात रहेको बताए । उनले भने, ‘प्रणाली कस्तो छ भन्ने होइन, प्रणालीमा कसरी काम गर्ने भन्ने कुरा मुख्य हो ।’ सरकारलाई राम्रो बनाउन पनि जनसमुदायको भूमिका रहने उनले उल्लेख गरे ।
‘अहिले नयाँ आएकाहरूले पुरानाले गरेनन् भनेको सुन्छु, मलाई त हाँसो लागिरहेको छ । पुरानाले गरेनन् भन्नुभन्दा पनि हामी यसरी गर्छौँ भनेर आउनुपर्छ’ हमालले भने ।
