आइतबार २७ पुस, २०८२

ब्रिटिस कलेजविरुद्ध संयुक्त विद्यार्थी संगठनले निकोले विज्ञप्ति, संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग

ब्रिटिस कलेजविरुद्ध संयुक्त विद्यार्थी संगठनले निकोले विज्ञप्ति, संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग गरेका छन् ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै संठनले पीडित विद्यार्थीलाई न्याय दिन दबाव दिंदापनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेजका संचालक विद्यार्थीहरुमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट पटक–पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीलाई न्याय दिन दबाव दिंदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा व्रिटिस कलेजका संचालक विद्यार्थीहरुमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भईरहेको छ । विद्यार्थीहरूले समस्या समाधानका लागि आवाज उठाउँदा कलेज प्रशासनले गुण्डाहरु परिचालन गरेर विद्यार्थीलाई धम्काउने, थर्काउने र पीडित विद्यार्थीलाई झुठो र बनावटी मुद्दामा हिरासत पठाउने जस्तो घृणास्पद गतिविधि चलाइरहेकोप्रति सयुक्त विद्यार्थी संगठनको तर्फबाट घोर भत्र्सना र कडा निन्दा गर्दछौं ।’

हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाइरहेको, अत्याधिक शुल्क असुलेको, फरक कोर्स पढाएको र भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारिएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

कलेज प्रशासनले यस्ता हर्कतहरु नरोके कलेजविरुद्ध कडा संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।तर कलेज प्रशासनले आन्दोलनका नाममा विद्यार्थीले नै आर्थिक वार्गेनिङ गरिएको जनाएको छ । दुई जना विद्यार्थीले आन्दोलनको नाममा आफ्नै कलेजसँग दुई करोड रुपैयाँ दिनुपर्ने माग राखी बार्गेनिङ गरेको कलेज प्रशासनको दाबी छ ।अध्ययनक्रममै इन्टर्नशिपका लागि दुबई गएका केही विद्यार्थीलाई समेत नेपाल फर्कन बाध्य पारेर कलेजविरुद्ध बोल्न लगाई रकम असुल्ने प्रयास गरिरहेको जनाएको छ । साथै कलेजले अडियो र भिडियो प्रमाणसहित प्रहरीमा जाहेरी समेत दिएको जनाएको छ ।

पहिलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नेपालको अगुवाइमा दुबई पुगेका अन्य विद्यार्थीलाई विभिन्न प्रलोभन तथा चेतावनी दिँदै नेपाल फर्काएर कलेजविरुद्ध अभिव्यक्ति दिन लगाइएको दाबी गरिएको छ ।दुबईमा रहेका विद्यार्थीलाई कलेजले चारवटा इन्टर्नशिपका अवसर उपलब्ध गराएको भएपनि उनीहरू इन्टर्नशिप नगरी नेपाल फर्किएको कलेज प्रशासनको भनाइ छ ।

दुबई नै नपुगेका केही विद्यार्थीहरु कलेजविरुद्ध आधारहीन टिप्पणी गर्दै दुबईमा इन्टर्नशिपमा रहेका विद्यार्थीलाई समेत कलेजबारे नकारात्मक धारणा सार्वजनिक गर्न दबाब दिएको, नेपाल फर्किएपछि आफूले तिरेको शुल्क मात्र नभई थप ठूलो रकमसमेत माग गर्दै कलेजसँग बार्गेनिङ गरिएको, साथै कलेजबारे तटस्थ धारणा राख्ने विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत नकारात्मक रूपमा ‘एक्सपोज’ गरिएको कलेजको दाबी छ ।
त्यस्तै, कलेजले लिँदै नलिएको शुल्कबारे पनि भ्रम फैलाएको जनाएको छ । तर दुबईबाट फर्किएका केही विद्यार्थी तथा उनीहरूका अभिभावकसँग कलेज प्रशासनले छलफल गरी समस्या समाधान गरिसकेको जनाइएको छ । तर, दुबई नै नगएका विद्यार्थीले भद्दा माग राख्दै कलेजसँग निरन्तर मोलमोलाई गरिरहेको जनाएको छ ।

विद्यार्थीहरु हरेक वार्तामा उत्तेजित रूपमा प्रस्तुत हुने, शिक्षक तथा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको साथै व्यक्तिगत स्वार्थका लागि कलेजको बदनाम गराउँदै सामाजिक सञ्जालमा भाइरल हुन अतिरञ्जित गतिविधि गरिएको आरोप लगाएको छ ।

कलेजका कर्मचारी मात्र नभई निर्देशकहरूको उपस्थितिमा भएका छलफलमा समेत विद्यार्थीहरू उत्तेजित पारामा प्रस्तुत हुँदा कर्मचारीहरू त्रसित भएको जनाइएको छ ।यता, आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा प्रहरीले विवेक ढकाललाई पक्राउ गरिसकेको छ ।

कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका वर्ष २८ का ढकाल पक्राउ परेका हुन् ।

त्यस्तै, कलेज प्रशासन र शिक्षा मन्त्रालयबीच पटक पटक वार्ता भएको र मन्त्रालयले दिएको निर्देशन अनुसार काम भइरहेको पनि कलेज प्रशासनको दाबी छ ।