आइतबार २७ पुस, २०८२

माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद भुक्तानी गर्न नपाइने व्यवस्था कडाईका साथ लागु हुने

माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद भुक्तानी गर्न नपाइने व्यवस्था कडाईका साथ लागु हुने

काठमाडौं । माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा नगद भुक्तानी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सुचना जारी गर्दै क, ख,ग रघ वर्गका वैंक तथा वित्तिय संस्थलाई सोही बमोजिम गर्न गराउँन निर्देशन दिएको छ । 

तर वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न भने उक्त व्यवस्था लागू नहुने उल्लेख छ । त्यस्तै वित्तीय संस्थाहरू बीचमा नगद कारोबार गर्न पनि उक्त सीमा लाग्ने छैन ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था गरेपछि केन्द्रिय बैंकले पनि बैंकहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न भनेको हो । 

सुचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४४ग. को उपदफा (१) को प्रयोजनका लागि २०८२ माघ १ गतेदेखि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको छ।'