मंगलबार २९ पुस, २०८२

सर्वसाधारणका लागि खुल्यो सोलु हाईड्रोपावरको आईपीओ

सर्वसाधारणका लागि खुल्यो सोलु हाईड्रोपावरको आईपीओ

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरको प्रि अलटमेन्ट गरीसकेको छ । त्यस्तै, कम्पनीले १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

अब भने कम्पनीले दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।