बुधबार २० फागुन, २०८२

सरकारबाट ४० करोड भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले बन्द गर्दै स्वास्थ बीमा

सरकारबाट ४० करोड भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले बन्द गर्दै स्वास्थ बीमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ।

स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि उपचार खर्चबापतको रकम भुक्तानी नगरेपछि अस्पतालले माघ १ गतेदेखि बीमामार्फत दिइँदै आएको उपचार सेवा रोक्ने घोषणा गरेको हो। अस्पतालका अनुसार हालसम्म बीमा बोर्डबाट झण्डै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा मासिक करिब २ करोड रुपैयाँ घाटा सहँदै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ, 'मासिक झण्डै ५ करोड हाराहारीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत गरेर बाँकी अस्वीकृत गरिदै आएको जानकारी गराउँदै हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको व्यहोरा जानकारी गराउँदछौं।'

स्वास्थ्य बीमा बोर्ड र त्रि.वि. शिक्षण अस्पतालबीच भएको सम्झौताअनुसार २०७७ सालदेखि अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत उपचार सेवा सुरु गरिएको थियो। त्यसयता बीमामार्फत उपचार लिन आउने बिरामीको संख्या र उपचार खर्च दुवै बढ्दै गए पनि पूरा रकम भुक्तानी नहुँदा आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको अस्पतालको भनाइ छ। अस्पतालले उपचारका क्रममा बीमा बोर्डले तोकेको शुल्क र अस्पतालको वास्तविक सेवा शुल्कबीच फरक रहेको, साथै अस्पतालले आफ्नो शुल्कलाई अन्तिम मानिदिन पछिल्ला दुई वर्षदेखि आग्रह गर्दै आए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेको छ।