सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर उपलब्ध गराउँदैनौं : नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराउने स्पष्ट पारेको छ ।
टेलिकमको ‘भ्यालु एडेड सर्भिसेस’ (भीएएस) सेवा प्रणालीमा आबद्ध भई एसएमएसमा आधारित भीएएस सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार–व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश टेलिकमका विभिन्न मोबाइल नम्बरमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त भएको कम्पनीले जनाएको छ ।
टेलिकमले व्यापार–व्यवसाय प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकलाई स्वीकृति दिने गरेको छ ।
सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न टेलिकमले सचेत गराएको छ ।
आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकलाई अनुरोध छ ।
नेपाल टेलिकमले सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनीयताको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।
