एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ, ३ करोड ११ लाखमध्ये एक करोड ८० लाख बरामद
सिन्धुली । नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न चार जना पक्राउ परेका छन्।
उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाबारे थप विवरण आउन बाँकी छ।
मंगलबार राति पाँच–छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेका थिए। लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरिसकेको छ।
लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बीएड–०३९८ नम्बरको टाटा सुमो गाडीसहित त्यसका चालक भवत सिंह थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चालक थापाले आफूले लुटेराहरूलाई नचिनेको दाबी गरेका छन्।
