शुक्रबार ०२ माघ, २०८२

भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आईपीओ जारी गर्दै

भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आईपीओ जारी गर्दै

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब हाम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

अब भने कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ ।

कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ ।

सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ । सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ बैशाख ६ गतेदेखि नै विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।