नेशनल लाईफ इन्स्योरेन्सको ३८औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।
सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र विभिन्न चुनौतीका बाबजुद लचिलो अवस्थामा रहेको बताइन्। कोभिड महामारी र भूराजनीतिक कारणले बढेको विश्व मुद्रास्फीति हाल घट्दो क्रममा रहेकाले विश्वका अधिकांश केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेको उनको भनाइ थियो।
यद्यपि, नेपालमा बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण आगामी आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदरमा दबाब पर्न सक्ने आकलन गरिएको उनले उल्लेख गरिन्।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको छ। सो अवधिमा कम्पनीको कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। सञ्चालनबाट १ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ कुल बीमा करार दायित्वमा थप गरिएको छ। यससँगै कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई ९ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, समर्पण मूल्य तथा अन्य दाबी भुक्तानीबापत ९ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी र दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। समीक्षा वर्षमा कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७९ करोड २० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा कम्पनीको औसत लगानी प्रतिफल दर ८.७६ प्रतिशत रहेको छ।
लगानी विविधीकरणका क्रममा कम्पनीले हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार कित्ता संस्थापक शेयर खरिद गरी बैंकमा आफ्नो स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुर्याएको छ। साथै, सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आई पहिलोपटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी पनि सभामा दिइयो।
कम्पनीले इटहरी शाखाका लागि आफ्नै स्वामित्वको जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अघि बढाएको छ। प्रविधिमैत्री सेवा विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिममा समेत जोड दिइँदै आएको कम्पनीले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले खूद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा स्थानान्तरण गरेको छ। समीक्षा वर्षमा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र बाल स्वास्थ्यसम्बन्धी संस्थालाई सहयोग गर्दै कुल ७० लाख २५ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँको आधारमा ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। सभामा अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी देशको प्रमुख जीवन बीमा कम्पनीका रूपमा आम नागरिकको जीवन बीमा आवश्यकताको परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
