सिलबन्द ह्विस्कीमै 'किरा जस्तो देखिने' अखाद्य वस्तु फेला, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड
काठमाडौं । बजारमा निर्वाध रूपमा बिक्री–वितरण हुँदै आएको ‘गुर्खाज एण्ड गन्स’ नामक ह्विस्कीको सिलबन्द बोतलभित्र किरा जस्तो देखिने अखाद्य वस्तु फेला परेको घटनाले खाद्य सुरक्षा, उपभोक्ता अधिकार र गुणस्तर नियमनप्रति गम्भीर प्रश्न उठाएको छ ।
आन्तरिक राजस्व विभागको स्टिकर टाँसिएको तथा बाहिरबाट पूर्ण रूपमा बन्द अवस्थामा रहेको बोतलभित्र उक्त अखाद्य वस्तु भेटिएपछि उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण प्रणालीप्रति शंका उत्पन्न भएको हो ।
उक्त ह्विस्की आवानीज डिस्टिलरीको उत्पादन भएको बताइएको छ । सिल नतोडिएको अवस्थामा बोतलभित्र अखाद्य वस्तु कसरी प्रवेश गर्यो भन्ने विषयमा उत्पादक कम्पनीको उत्पादन, प्याकेजिङ र भण्डारण प्रक्रियामा गम्भीर त्रुटि भएको आशंका गरिएको छ ।
खाद्य तथा पेय पदार्थमा अखाद्य वस्तु मिसिनु खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ (तत्कालीन ऐनसमेत लागू हुने) तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रतिकूल कार्य हो । उपभोक्ता संरक्षण ऐनअनुसार उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र स्वास्थ्यकर वस्तु तथा सेवा प्राप्त गर्ने हक सुनिश्चित गरिएको छ । यस्तो घटनालाई ऐनले भ्रामक व्यापार अभ्यास र असुरक्षित वस्तु बिक्री को श्रेणीमा राखेको छ, जसमा दोषी ठहरिएमा जरिवाना, क्षतिपूर्ति तथा व्यवसाय बन्दसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार, अखाद्य वस्तु मिसिएको मदिराजन्य पेय पदार्थ सेवन गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचन प्रणालीमा गम्भीर समस्या, साथै कलेजो र मृगौलासम्बन्धी रोग लाग्ने जोखिम उच्च हुन्छ । मदिरा सेवन आफैंमा स्वास्थ्यका लागि हानिकारक मानिँदै आएको अवस्थामा यस्तो अशुद्धता थप जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।
यस घटनाले मदिराजन्य पेय पदार्थ उत्पादन तथा बजार व्यवस्थापनमा गुणस्तर परीक्षण, प्रयोगशाला परीक्षण, बजार अनुगमन र नियामक निकायको भूमिका प्रभावकारी नभएको देखाएको सरोकारवालाहरूको टिप्पणी छ । कानुनअनुसार बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्ने दायित्व उत्पादक, वितरक र सम्बन्धित नियामक निकाय सबैको हुने व्यवस्था छ ।
उपभोक्ताको स्वास्थ्य र सुरक्षासँग प्रत्यक्ष सम्बन्धित यस्ता संवेदनशील वस्तु बजारमा ल्याउनु अघि कडाइका साथ गुणस्तर परीक्षण, उत्पादन अनुगमन र नियमित बजार निरीक्षण आवश्यक रहेको माग पनि उठेको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
