आइतबार १८ माघ, २०८२

नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड आजदेखि खुला, १३ करोड ६० लाख इकाईमा सर्वसाधारणलाई अवसर

नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड आजदेखि खुला, १३ करोड ६० लाख इकाईमा सर्वसाधारणलाई अवसर

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले आज माघ ४ गतेदेखि सामूहिक लगानी कोष योजनाअन्तर्गत नयाँ इकाई निष्कासन प्रक्रिया सुरु गरेको छ। क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “नेपाल लाइफ समृद्धि लगानी योजना” को इकाई बिक्री खुला गरेको हो।

यस योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ बराबर निर्धारण गरिएको छ। १० रुपैयाँ अंकित मूल्यका आधारमा यो योजना १६ करोड इकाईको रहेको छ।

कुल इकाईमध्ये कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका लागि २ करोड २४ लाख इकाई सुरक्षित गरिएको छ भने कोष व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई १६ लाख इकाई छुट्याइएको छ।

बाँकी १३ करोड ६० लाख इकाई भने सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। यस योजनामा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इकाई खरिदका लागि आवेदन छिटोमा माघ ८ गतेसम्म दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि ढिलोमा माघ १८ गतेसम्म लम्बिनेछ।

नेपाल धितोपत्र बोर्डले पुस १३ गते यस सामूहिक लगानी कोष निष्कासनको अनुमति प्रदान गरेको हो। नेपाल लाइफ क्यापिटलको यो पहिलो म्युचुअल फण्ड योजना हो। बन्दमुखी प्रकृतिको यस फण्डको अवधि १० वर्ष तोकिएको छ।

नेपाल लाइफ क्यापिटल लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनीको रूपमा सञ्चालनमा रहेको छ।