शुक्रबार ०९ माघ, २०८२

छ महिनामा ३९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

छ महिनामा ३९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा करिब ३९ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ।

उद्योग विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ४७५ वटा परियोजनामार्फत कुल ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।

यस अवधिमा ४६० वटा साना, आठ वटा मझौला र सात वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

क्षेत्रगत रूपमा कृषि उत्पादनमूलक, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी आकर्षित भएको देखिन्छ। कृषि क्षेत्रमा १३ वटा परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। 

पर्यटन क्षेत्रमा १४५ वटा परियोजनामार्फत १० अर्ब ५४ करोड २० लाख रुपैयाँ, सेवामूलक क्षेत्रका ३१ वटा परियोजनामा तीन अर्ब ४६ करोड ६० लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ वटा परियोजनामा दुई अर्ब तीन करोड रुपैयाँ र सूचना प्रविधि क्षेत्रमा २५७ वटा परियोजनामार्फत एक अर्ब सात करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार हालसम्म कुल सात हजार ७१३ वटा परियोजनामार्फत छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ।