पेप्सीकोलाका रेस्टुरेन्ट अनुगमन, म्याद नाघेको चाउचाउ र गुणस्तरहीन तेल नष्ट
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं पेप्सीकोला क्षेत्रका दुइटा चर्चित रेस्टुरेन्ट अनुगमन गरी कैफियत भेटिएका सामग्री नष्ट गरेको छ ।
विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्राविधिक टोलीले २८ पुसमा गरेको बजार अनुगमन क्रममा खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही भेटिएको हो ।
अनुगमन क्रममा पेप्सीकोलास्थित मटन स्टेसन प्रालिमा लापरबाही भेटीएको छ ।
टोलीले त्यहाँ प्रयोग भइरहेको फ्राइङ तेल परीक्षण गर्दा टीपीएम मान ३०.५ पाइएपछि करिब ५ लिटर तेल तत्काल नष्ट गरेको छ । सामान्यतया तेलको टीपीएम मान २५ भन्दा बढी हुनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
यस्तै सोही रेस्टुरेन्टबाट उपभोग्य मिति समाप्त भइसकेका ३ प्याकेट (१ किलो दरका) स्टिम चाउचाउ समेत फेला पारी नष्ट गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।
मटन स्टेसनलाई पकाउने खाद्य वस्तुमा कृत्रिम रङ प्रयोग नगर्न र भण्डारण सुधार गर्न निर्देशन दिइएको छ ।
यसैगरी पेप्सीकोलाकै दाउरा थकाली प्रालिमा गरिएको अनुगमनमा सरसफाइ सन्तोषजनक पाइए तापनि केही प्राविधिक सुधार गर्नुपर्ने देखिएको छ । त्यहाँ ड्रेनेज पाइपलाइन व्यवस्थित नभएको, भाँडा माझ्ने र पकाउने ठाउँ सँगै रहेको तथा तयारी खानेकुरा नछोपी राखेको पाइएको छ ।
टोलीले उक्त रेस्टुरेन्टलाई कर्मचारीका लागि चेन्जिङ रुमको व्यवस्था गर्न र अभिलेख दुरुस्त राख्न निर्देशन दिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन यो अनुगमन गरिएको विभागले जनाएको छ ।
अनुगमन टोलीले दुवै व्यवसाय सुधारका लागि निश्चित समय सीमा तोक्दै कैफियत तत्काल हटाउन निर्देशन दिएको छ ।
