मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, कांग्रेसमा ५२ करोडको चलखेल भएको लगाएका थिए आरोप
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।
नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो ।
आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको हो ।
कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए ।
यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले पत्राचार गरेको हो ।
प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिताअन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।
