निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा, बैतडीमा हातहतियार बुझाउन प्रशासनको निर्देशन
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासनले उक्त निर्देशनसहित सूचना जारी गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ। इजाजत प्राप्त हातहतियार तथा सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिइएको उहाँले बताउनुभयो।
व्यक्तिगत सुरक्षाका लागि राखिएका इजाजत प्राप्त हातहतियार निर्धारित समयभित्र नबुझाए कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। बुझाइएका हातहतियार भने निर्वाचन सम्पन्न भएपछि अर्थात् चैत २० गतेपछि फिर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो।
यसैबीच, जिल्ला निर्वाचन कार्यालय बैतडीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनशक्ति व्यवस्थापनसहित आवश्यक तयारी तीव्र पारेको जनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।
जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदान स्थल कायम गरिएका छन् भने १ लाख ५६ हजार ३७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
