शनिबार १७ माघ, २०८२

जुनियरलाई डीसीईओ बनाएपछि नेपाल बैंकका एसीईओ बरालले दिए राजीनामा

जुनियरलाई डीसीईओ बनाएपछि नेपाल बैंकका एसीईओ बरालले दिए राजीनामा

काठमाडौं । नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) विश्वराज बरालले राजीनामा दिएका छन् ।

सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा होमबहादुर खड्कालाई नियुक्त गरेपछि बरालले राजीनामा दिएका हुन् ।

खड्का बरालभन्दा तल्लो तहमा कार्यरत थिए । आफूभन्दा कनिष्ठलाई डीसीईओ बनाएपछि पद तथा प्रतिष्ठामा अन्याय भएको महसुस गर्दै राजीनामा दिएको बरालले बताएका छन् ।

कर्मचारी सेवा विनियमावलीअनुसार एक महिनाको समय दिएर फागुन १० गतेदेखि लागू हुने गरी बरालले माघ ४ गते राजीनामा पत्र बुझाएको जानकारी दिए । यद्यपि, उनको राजीनामा बैंक व्यवस्थापनले स्वीकृत भने गरिसकेको छैन ।

बराल आगामी फागुन २० गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए । अवकाशको करिब १० दिन अगावै उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

बरालले राजीनामा दिए पनि २० वर्षे सेवा अवधि पूरा गरिसकेकाले कर्मचारी सेवा विनियमावलीअनुसार पाउने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्ने बैंकका एक कर्मचारीले बताए ।