शनिबार १७ माघ, २०८२

गुल्मी १ मा चन्द्र भण्डारी, प्रदीप ज्ञवालीसँग भिड्न रास्वपाका सागर ढकाल मैदानमा

गुल्मी १ मा चन्द्र भण्डारी, प्रदीप ज्ञवालीसँग भिड्न रास्वपाका सागर ढकाल मैदानमा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ। कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारी र नेकपा (एमाले)का प्रभावशाली नेता प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल थपिँदा चुनावी समीकरण फरक देखिएको छ।

यसअघि डडेलधुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकाल यस निर्वाचनमा गुल्मीबाट भाग्य परीक्षण गर्न आएका हुन्। गुल्मी–१ मा कांग्रेसका भण्डारी, एमालेका ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सुदर्शन बराल उम्मेदवार रहेका छन् भने रास्वपाबाट ढकाल नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

उम्मेदवारी दर्ताका क्रममा प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरू एकै स्थानमा भेटिँदा आपसी सद्भाव झल्किने दृश्य देखिएको थियो। भण्डारी, ज्ञवाली र बरालबीच मनोनयन स्थलमै भेटघाट हुँदा उनीहरूले एकअर्कासँग शुभेच्छा आदानप्रदान गरेका थिए। गुल्मीमा स्वस्थ र मर्यादित राजनीतिक संस्कार रहेको सन्देश यसले देशभर दिएको भण्डारी र ज्ञवालीको भनाइ थियो। ज्ञवालीले यस निर्वाचनमा गुल्मीमा शालीन र सकारात्मक प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले भने यसपटकको निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक चुनावका रूपमा व्याख्या गरेका छन्। उनले युवाले नेतृत्व गर्ने राजनीतिको आधार तयार हुँदै गएको दाबी गर्दै यस निर्वाचनबाट नयाँ राजनीतिक धार स्थापित हुने बताए। अघिल्लो निर्वाचनमा डडेलधुराबाट उठाएको राजनीतिक बहस अहिले झापासम्म पुगेको उल्लेख गर्दै उनले त्यो प्रयास यसपटक ठोस नतिजामा रूपान्तरण हुने धारणा राखेका छन्।