बैंकको निक्षेप ७६ खर्बमाथि, कर्जा प्रवाह पौने ५८ खर्ब
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप पहिलो पटक ७७ खर्ब रूपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ २ गते सम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप सो विन्दुमा पुगेको देखाएको हो ।
नेपालमा पहिलो पटक बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ७७ खर्ब रूपियाँ पुगेको हो । माघ २ बैंक तथा वित्तीय संस्थामा ७७ खर्ब सात अर्ब रूपियाँ निक्षेप छ । यद्यपि, माघ ३ गते त्यो ७६ खर्ब ९६ अर्ब रूपियाँमा झरेका छ ।
तथ्यांक अनुसार माघ २ गतेसम्म वाणिज्य बैंकहरूमा ६९ खर्ब ३८ अर्ब रूपियाँ र अन्य बैंक तथा वित्तीय संस्थामा सात खर्ब ६९ अर्ब रूपियाँ निक्षेप छ । बढ्दो रेमिट्यान्स लगायतका कारण बैंकहरूमा निक्षेप बढ्दो क्रममा छ ।
यस अवधिसम्म आउँदा बैंकहरूको कुल कर्जा प्रवाह भने ५७ खर्ब ८७ अर्ब रूपियाँ पुगेको छ । त्यसमा वाणिज्य बैंकहरूले ५१ खर्ब ४७ अर्ब रूपियाँ र अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ३९ अर्ब रूपियाँ कर्जा प्रवाह गरेका छन् ।
ऋण दिन मिल्ने पैसा १२ खर्ब
तथ्यांक अनुसार बैंकहरूमा ऋण दिन मिल्ने पैसा भने १२ खर्ब ११ अर्ब रूपियाँ रहेको छ । हाल बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी) रेसियो ७४.२८ प्रतिशत छ ।
बैंकहरूले सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउँछन् । त्यो अनुसार अझै निक्षेपको १५.७२ प्रतिशत रकम कर्जा दिन मिल्नेछ, जुन रकम १२ खर्ब ११ अर्ब रूपियाँ हुनेछ । तर, पछिल्लो समय आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा बैंकहरूमा ऋण दिन मिल्ने पैसा थुप्रिएको छ ।
बैंकहरूले ब्याजदर निरन्तर घटाउँदा पनि ऋणको माग बढ्न सकेको छैन ।
