भारत–अमेरिका विवादको असर : सुन र डलर नै एकसाथ महँगो, नेपाली मुद्रा झनै कमजोर
काठमाडौं । सुनको मूल्यसँगै नेपाली बजारमा डलरको मूल्यपनि पनि निरन्तर रेकर्ड ब्रेक गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार डलरको खरिद मूल्य १४५.२७ रूपियाँ र बिक्री मूल्य १४५.८७ रूपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । पछिल्ला दिनमा डलरको मूल्य निरन्तर बढ्दै आएको छ ।
त्यसक्रममा बुधबार पनि डलरको मूल्य नयाँ विन्दुमा पुगेको हो । डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा कमजोर हुनु हो । अर्थात्, अहिले नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
मुख्यत भारतमा डलरको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग छ । त्यो अवस्थामा भारतमा हुने परिवर्तनका आधारमा नेपालमा पनि यसको मूल्य परिवर्तन हुन्छ । अर्थात्, भारतमा मूल्य बढ्दा नेपालमा बढ्छ । भारतमा यसको मूल्य घट्दा नेपालमा पनि कम हुन्छ । भारतमा साँझ ५ बजे कायम हुने डलरको मूल्यको आधारमा नेपालमा भोलिपल्टका लागि डलरको मूल्य निर्धारण गरिन्छ ।
बिशेषगरी भारत र अमेरिका बीचको व्यापार विवाद अझै साम्य भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्त २७ तारिखदेखि भारतबाट हुने बस्तुको आयातमा ५० प्रतिशत कर लगाउन सुरु गरेका छन् । त्यसपछि भारतको अमेरिकासँगको व्यापार प्रभावित भएको छ । भारतले अमेरिकामा उच्च मात्रामा वस्तु निर्यात गर्ने गरेको थियो । अहिले अमेरिकाले त्यसमा कर बढाएपछि त्यस्तो व्यापार अन्योलमा परेको छ । भारत र अमेरिकाबीच वार्ता हुने भनिएपनि त्यो अझै भएको छैन ।
व्यापारमा देखिएको अन्योलताका कारण अहिले भारतमा भएको विदेशी लगानी फिर्ता भइरहेको छ । त्यसले गर्दा भारतमा डलरको माग बढेको छ, फलस्वरुप मूल्य बढ्न गएको छ । भारतको चालु खाता दबाबमा छ भने आयात पनि उच्च छ । भारतमा विदेशी मुद्रा सञ्चिती पनि घट्दै गएको छ । त्यसको असरले नेपालमा पनि मूल्य बढाइएको हो ।
अहिले अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएको छ । अमेरिकामा ब्याजदर समेत उच्च छ । यसले पनि डलरको मूल्य बढाउन सहयोग पुगेको छ । ब्याजदर उच्च भएपछि लगानीकर्ताले डलरमा निक्षेप राखेर बस्ने गर्छन् ।
यसैगरी भुराजनीतिक द्धन्द्धका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि डलर खरिद गरेर होल्ड गरिरहेका छन् । त्यसले गर्दा पनि विश्व बजारमा डलरको मूल्य बढी रहेको छ ।
डलरको मूल्य बढ्दा नेपाललाई फाइदा बेफाइदा दुवै हुनेछन् । डलरको मूल्य बढ्दा रेमिट्यान्स, विदेशी पर्यटक, निर्यात लगायतका माध्यमबाट हुने आम्दानी बढ्ने छन । किनकी, त्यसबाट डलरमा आम्दानी हुन्छ । त्यो अवस्थामा डलरलाई नेपाली रूपियाँमा सटही गर्दा धेरै आम्दानी हुनेछ ।
तर, आयात, विदेशी ऋण लगायतका वैदेशिक भुक्तानी भने महँगो हुनेछ । नेपालले खर्बौ रूपियाँ विदेशी ऋण तिर्नुपर्नेछ । साथै, वार्षिक १५ खर्ब बढीको वस्तु आयात हुने गर्छन् । त्यसको भुक्तानी डलरमा गर्नुपर्छ । त्यो अवस्थामा डलरको मूल्य बढ्दा आयात र विदेशी ऋणको दायित्व पनि महँगो हुने विज्ञहरु बताउँछन् । आयातको लागत बढ्न गई अब मूल्यबृद्धि पनि उच्च हुने सम्भावना देखिएको छ ।
