शनिबार १७ माघ, २०८२

ओलीको गढ मानिने झापा–५ मा बालेनको घरदैलो अभियान

ओलीको गढ मानिने झापा–५ मा बालेनको घरदैलो अभियान

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ को चुनावी मैदानमा उत्रिएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव केन्द्रित घरदैलो कार्यक्रम सुरु गरेका छन् । मंगलबार झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका बालेनले बुधबार बिहानैदेखि स्थानीय मतदातासँग भेटघाट थालेका हुन् ।

दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौलाको घरमा बास बसेका बालेनलाई भेट गर्न स्थानीयहरू बिहानै त्यहाँ पुगेका थिए । बालेनलाई भेट्न स्थानीयले ईच्छा देखाएपनि बुधबारको भेटघाटमा चुनावीभन्दा परिचयात्मक मात्र भएको उनका चुनावी अभियानका प्रतिनिधिले बताएका छन् ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेनलाई भेट्न बिहानैदेखि दमकमा मतदाताहरुको जमघट भइरहेको छ । भेटघाटका लागि प्रत्येक समूहलाई बढीमा १० मिनेटको समय छुट्याइएको पनि बालेनका प्रतिनिधिले शिलापत्रलाई जानकारी दिए । 

बालेनको आगामी चुनावी कार्यक्रम बारे अहिले कुनै सार्वजनिक जानकारी दिईएको छैन । प्रतिनिधिका अनुसार बालेन पूर्वी पहाडी जिल्लाहरू ईलाम, पाँचथर र ताप्लेजुङसम्म चुनावी कार्यक्रमका लागि जाने कार्यक्रम रहेको छ ।