शनिबार १७ माघ, २०८२

भाउ उच्च हुँदा पनि पुसमा ३ अर्ब रूपियाँको १५० केजी सुन आयात

भाउ उच्च हुँदा पनि पुसमा ३ अर्ब रूपियाँको १५० केजी सुन आयात

काठमाडौं । मूल्य बढेर उच्च विन्दुमा पुगेको अवस्थामा पुस महिनामा मात्रै १५० केजी सुन आयात भएको छ । पुस महिनामा तीन अर्ब ११ करोड २५ लाख ४८ हजार रूपियाँ बराबरको सुन आयात भएको छ । 

गत तिहार पछि सुन आयात ठप्प थियो । मंसिरमा १ केजी मात्रै सुन आयात भएको थियो । पुसमा भने १५० केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

चालु आवको साउनमा १०० केजी, भदौमा १०१ केजी, असोजमा ४०० केजी, कात्तिकमा ३०१ केजी र मंसिरमा १ केजी सुन आयात भएको थियो । अहिले पुसमा १५०.११ केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ । 

अहिले नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै आएको छ । त्यसका बाबजुद पनि बैंकहरुले पुसमा सो बराबरको सुन आयात गरेका हुन् । नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरुलाई मात्रै छ । 

बुधबार एकै दिन सुनको मूल्य तोलामा १० हजार चार सय रूपियाँले बढेर प्रतितोला दुई लाख ९५ हजार एक सय रूपियाँ पुगेको छ । मूल्य बढ्दा कारोबारमा शिथिलता आएको छ । तर, आयात भने कायमै देखिएको छ । 

चालु आवको पहिलो ६ महिनामा भने १०५३ केजी सुन आयात भएको छ । सो परिमाणमा सुन आयात गर्दा १८ अर्ब ८३ करोड ३६ लाख ९८ हजार रूपियाँ बाहिरिएको छ । त्यसबाट नेपाल सरकारलाई एक अर्ब ८८ करोड ३३ लाख ७१ हजार रूपियाँ राजस्व प्राप्त भएको छ । 

गत आवभर भने १७ अर्ब १२ करोड ८९ लाख रूपियाँ  बराबरको एक हजार ३९० केजी सुन आयात भएको थियो । मूल्यका आधारमा गत आवको भन्दा धेरै सुन आयात भएको छ । 

परिमाणको आधारमा भने कम छ । मूल्य बढेपछि परिमाण र रकमका आधारमा सुनको आयातको बृद्धि दर फरक–फरक देखिएको हो । 

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै आएको छ । तर, आयात भने बढेको देखिएको छ । उसो त गत आवमा सुन आयात घटेको थियो । मूल्य बढ्न थालेपछि गत आवमा यसको आयात सुस्ताएको थियो । यो बर्ष पनि मूल्य बढ्दै आएको छ । तर, सुन आयात कायमै छ ।