अख्तियार दुरुपयोगमा मुछिएकी स्वास्थ्यकी कर्मचारी डा.मिश्रासँग विशेषले माग्यो रु. ५ लाख धरौटी
काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचि डा। संगीता मिश्रासँग विशेष अदालतले रु.पाँच लाख धरौटी मागेको छ ।
विशेषका न्यायाधीशहरु नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज बुधबार पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि रु.पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद गर्दा अनियमितता भएको भन्दै विभागकी तत्कालीन महानिर्देशक डा.मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
ठेक्का सम्झौता शर्तविपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिलबिजक र गलत प्रतिवेदन बनाएर रकम भुक्तानी गरेको दाबीसहित झण्डै रु। १४ करोड बिगो दाबी गरेको थियो ।
