शनिबार १७ माघ, २०८२

३१ फर्ममाथि कारबाही र निर्देशन, एकलाई ५० हजार जरिबाना

३१ फर्ममाथि कारबाही र निर्देशन, एकलाई ५० हजार जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाउँदै उपभोक्ता ठगी गर्ने र मापदण्ड पूरा नगर्ने ३१ वटा व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ ।

विभागले आइतबार र मंगलबार गरेको छुट्टाछुट्टै अनुगमनमा ती फर्मलाई कारबाही तथा जरिबाना गरेको हो ।

विभागका अनुसार मंगलबार गरिएको अनुगमनमा सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेको खिलुङ कालिका मार्केटिङ प्रालिलाई ५० हजार रुपैयाँ नगद जरिबाना गरिएको छ ।

उक्त कम्पनीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) र दफा ३८ (ट) बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (१) (घ) बमोजिम जरिबाना गरिएको विभागले जनाएको छ।

आइतबार गरिएको अनुगमनमा कैफियत भेटिएका तीन ठूला फर्मलाई आवश्यक कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उपस्थित हुन निर्देशन दिइएका फर्ममा ललितपुरको हेलोज मार्ट, काठमाडौंको वान स्टोर मोबाइल प्रालि र ललितपुरकै आभास ट्रेडिङ कम्पनी प्रालि छन् ।

अनुगमन क्रममा अन्य २७ फर्मलाई व्यावसायिक सुधारका लागि सामान्य निर्देशन दिइएको छ । निर्देशन पाउनेमा विभिन्न आयल स्टोर, ग्यास सप्लायर्स, मोबाइल पसल, खाद्य उद्योग र पोल्ट्री फर्म छन् ।

आइतबार माली आयल स्टोर, श्रेष्ठ आयल स्टोर, मुना ग्यास सप्लायर्स, मोहन ग्यास सप्लायर्स, एप्पल ट्रेड हब प्रालि, ल्यापटप जोन प्रालि, ई–जोन मोबाइल, न्यु वर्ल्ड, शीन इन्टरप्राइजेज, केएम फुड, वैष्णवी इन्टरप्राइजेज, आईटेक इन्टरनेसनल, एलएस मोबाइल, ग्यालेस्टिक ट्रेडिङ र मोबिट्रोन नेपाललाई निर्देशन दिइएको थियो ।

त्यस्तै मंगलबार बुचर नेपाल, अरनिको फ्रेस हाउस, चाङ्गाथली लोकल पोल्ट्री, ग्रामीण पोल्ट्री, नमुना पशुपन्छी फर्म, सारथी पोल्ट्री, मेगा पोल्ट्री, लसता स्टोर्स, आश्रय होल्डिङ, प्रकाश ब्रिडिङ फर्म, इच्छानेश्वर खाद्य उद्योग र सत्यपुर खाद्य स्टोरलाई सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ ।