चुनावी घोषणापत्रमा निजी क्षेत्रको एजेन्डा बिना आर्थिक विकास सम्भव छैन : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेन्डालाई सबै राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्।
नुवाकोटको विदुरमा बुधबार आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले देश निर्वाचनमय बन्दै गएको सन्दर्भमा सबै राजनीतिक दलहरू घोषणापत्र तयारीमा जुटेकाले निजी क्षेत्रका प्राथमिकताका विषयलाई उच्च महत्व दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेण्डाहरुलाई दलहरुले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ । म सबै राजनीतिक दलहरुलाई यो आग्रह गर्दछु कि सबै दलले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई पहिलो प्राथमिकता दिनुहोला ।’
देशमा रोजगारीका अवसर सिर्जना गर्न, उद्योग–धन्दा तथा कलकारखानाको समुचित विकास गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रका एजेन्डाले प्राथमिकता पाउनुपर्ने बताए। अध्यक्ष ढकालले अघिल्लो समय मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट अवस्था सुधारोन्मुख भएको स्मरण गरे।
आगामी दिनहरू पनि सहज नहुने संकेत गर्दै उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
