सिटिजन्स बैंकको ‘डिजिबैंक’ सञ्चालनमा, अब सबै डिजिटल सेवा एउटै प्लेटफर्ममा
काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङले तीव्र गति लिइरहेका बेला सिटिजन्स बैंक यस परिवर्तनको अग्रपङ्क्तिमा देखिएको छ ।
बैंकका डिजिटल बैंकिङ प्रमुख भूपेन्द्र विष्टका अनुसार अहिले अधिकांश बैंकहरूले ग्राहकसँगको प्रत्यक्ष कारोबारको ८०-९० प्रतिशत हिस्सा डिजिटल माध्यमबाट गरिरहेका छन् । सिटिजन्स बैंकमा पनि काउण्टर ट्रान्जेक्सन र डिजिटल ट्रान्जेक्सनबीच ठूलो अन्तर देखिएको उनको भनाइ छ ।
तथ्याङ्कअनुसार बैंकको कुल कारोबारमध्ये करिब ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ, जसले डिजिटल बैंकिङप्रति ग्राहकको आकर्षण तीव्र रूपमा बढिरहेको स्पष्ट हुने विष्ट बताउँछन् । उनका अनुसार नयाँ पुस्ता प्रविधिप्रति बढी आकर्षित भएकाले बैंकमा नगइ डिजिटल माध्यमबाटै सेवा लिन रुचाउँछन् ।
‘ठूला कारोबारहरू पनि अब डिजिटल माध्यमबाटै सञ्चालन हुँदैछन् । काउण्टर भिजिट गर्ने ग्राहकहरू निकै कम भएका छन् । चेकमार्फत हुने ठूला कारोबारहरू पनि आरटीजीएस र आइपीएस प्रणालीबाट गरिरहेका छन् । ठूला व्यवसायीहरूले आरटीजीएसलाई प्राथमिकता दिइरहेका छन्,’ उनले भने ।
विष्टका अनुसार सिटिजन्स बैंकले मोबाइल बैंकिङलाई समयानुकूल अपग्रेड गर्दै सेवा विस्तार गरेको छ । ‘हामीले पैसा ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड तथा भर्चुअल क्रेडिट कार्डजस्ता सुविधा मोबाइल बैंकिङमा उपलब्ध गराएका छौं । भर्चुअल क्रेडिट कार्डले फिजिकल कार्ड बोक्ने झन्झट कम गरेको छ र देशभरका क्युआर मर्चेन्टहरूमा प्रयोग गर्न सकिन्छ । यसले क्रेडिट-आधारित डिजिटल भुक्तानीलाई व्यापक पहुँच दिँदै यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ,’ उनले भने ।
ग्राहकले मोबाइल बैंकिङ प्लेटफर्ममार्फत क्रेडिट कार्डको नयाँ आवेदन, क्रेडिट कार्ड लिमिट वृद्धि अनुरोध, केवाईसी अपडेट तथा विभिन्न किसिमका कर्जाका आवेदन सहजै गर्न सक्ने विष्ट बताउँछन् । बैंकले आफ्ना ग्राहकहरूलाई पेडे-लोन नामक डिजिटल कर्जा सुविधा प्रदान गर्दै आएको छ ।
बैंकको प्रणालीले ग्राहकको जम्मा तथा भुक्तानी कारोबार इतिहास, क्रेडिट हिस्ट्री तथा अन्य सूचकहरूको आधारमा कर्जा लिन योग्य ग्राहकलाई स्वचालित रूपमा पहिचान गरी मोबाइल बैंकिङ एपमै देखाउने व्यवस्था गरेको छ । योग्य ग्राहकले आवेदन गरेपछि कर्जा तुरुन्तै स्वीकृत भई रकम तत्काल खातामा जम्मा हुने व्यवस्था रहेको उनले जानकारी दिए ।
सिटिजन्स बैंकले हालै ‘सिटिजन्स डिजि बैंक’ प्लेटफर्म सुरु गरेको छ । यो मोबाइल र वेब दुवै माध्यमबाट उपलब्ध एक अत्याधुनिक एकीकृत प्लेटफर्म हो, जसबाट करिब ५० भन्दा बढी सेवाहरू एउटै ठाउँबाट प्रयोग गर्न सकिने विष्टले बताए । ‘यसले बैंक भिजिट गर्ने आवश्यकतालाई उल्लेख्य रूपमा घटाएको छ र कर्मचारीहरूलाई अन्य उत्पादक कार्यमा ध्यान केन्द्रित गर्न मद्दत पुर्याएको छ,’ उनले भने ।
बैंकको आन्तरिक प्रणालीबारे स्पष्ट पार्दै विष्टले भने, ‘हामीले बिजनेस प्रोसेस म्यानेजमेन्ट टुलमार्फत बैंकका सम्पूर्ण आन्तरिक प्रक्रियाहरू स्वचालित गरेका छौं । हाल विभिन्न विभागका अधिकांश कार्य प्रवाहहरू यसै प्लेटफर्ममा समावेश भइसकेका छन् । साथै बैंकका आन्तरिक मेमो र कर्जा मूल्याङ्कनका फाइलहरू पनि डिजिटल रूपमै स्वीकृत हुने व्यवस्था मिलाइएको छ । यसले कर्मचारीहरूको समय बचत हुनुका साथै कार्यक्षमतामा उल्लेख्य वृद्धि गरेको छ ।’
के हो सिटिजन्स डिजी बैंक ?
सिटिजन्स बैंकले गत महिना सार्वजनिक गरेको ‘सिटिजन्स डिजी बैंक’ एक अत्याधुनिक एकीकृत ओम्नी–च्यानल प्लेटफर्म हो । यसको मुख्य उद्देश्य बैंकमा छरिएर रहेका सबै डिजिटल सेवाहरूलाई एउटै सुरक्षित र सहज च्यानलमार्फत ग्राहकसम्म पुर्याउनु हो । सिटिजन्स डिजी बैंक वेबसाइट र मोबाइल एप दुवै माध्यमबाट प्रयोग गर्न सकिने विष्ट बताउँछन् । उनका अनुसार ग्राहक जहाँ छन्, त्यहीबाट बैंकमा नगई सबै डिजिटल बैंकिङ सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
‘यसको मुख्य उद्देश्य ग्राहकले भौतिक रूपमा शाखामा उपस्थित हुनुपर्ने वाध्यतालाई अन्त्य गर्नु हो । घरमै बसेर कुनै पनि बैंक कर्मचारीको सहयोग नलिई सरल र सुरक्षित तरिकाले सेवा उपभोग गर्न सकिन्छ । यसबाट सेवाग्राही, प्रयोगकर्ता र बैंकका कर्मचारी सबैलाई सहज हुनेछ,’ उनले भने ।
ग्राहकहरूले केवाईसी अद्यावधिक गर्दा भोग्नुपर्ने झन्झटिलो प्रक्रियालाई पनि सिटिजन्स डिजी बैंकले सहज बनाइदिएको विष्टको भनाइ छ । ‘कुनै एउटा विवरण सच्याउन पूरै फारम भर्नुपर्ने पुरानो प्रणालीलाई अन्त्य गरी आवश्यक विवरण मात्रै सच्याउन मिल्ने व्यवस्था गरिएको छ । प्यान अपडेट, राष्ट्रिय परिचयपत्र नम्बर अपडेट जस्ता काम अब यसै माध्यमबाट गर्न सकिन्छ,’ उनले भने ।
हाल यस प्लेटफर्मभित्र ११ वटा मुख्य मेनुअन्तर्गत ५० भन्दा बढी डिजिटल सेवाहरू उपलब्ध रहेको उनले जानकारी दिए । ‘अनलाइन खाता खोल्ने, लकर सुविधाका लागि आवेदन दिने, मोबाइल बैंकिङ सञ्चालन गर्ने, डिम्याट सम्बन्धी सम्पूर्ण काम गर्ने तथा डिजिटल लोनको अनुरोध गर्ने जस्ता महत्वपूर्ण सुविधाहरू यसमा समावेश छन् । क्युआर मर्चेन्ट सेवा, ब्यालेन्स सर्टिफिकेट र टिडिएस सर्टिफिकेट लिन सकिने सुविधाले गर्दा व्यावसायिक ग्राहकहरू पनि यसप्रति निकै आकर्षित भएका छन्,’ उनले भने ।
डिजिटल बैंकिङप्रति ग्राहकको उत्साहजनक सहभागिताले सिटिजन्स बैंकलाई नेपालको डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी र विश्वासिलो संस्थाको रूपमा स्थापित गर्दै लगेको विष्टको विश्वास छ ।
