सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ माघ १८ बाट बिक्रि खुला हुने
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आइपिओ बिक्रि गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले ५ करोड ७२ लाख ४३ हजार १०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो।
जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रूपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रूपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको सूर्यकुण्डले पहिलो चरणमा ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसै गरी दोस्रो चरणमा पनि १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्रि खुला गर्न लागेको हो ।
यो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन ३ गतेसम्म समय थप हुनेछ।
