भत्कियो गठबन्धनको संस्कृति : एक्लाएक्लै चुनावमा भिड्दै दलहरु, आफ्नै शक्ति परीक्षण गर्ने समय
काठमाडौँ । विगतका केही निर्वाचनहरूमा गठबन्धन र तालमेल गरी निर्वाचनमा भाग लिँदै आएका राजनीतिक दलहरू यसपटक विना गठबन्धन एक्ला एक्लै निर्वाचनमा होमिएका छन् ।
विगतका निर्वाचनहरूमा तालमेल गर्दै निर्वाचनमा सहभागी हुँदै आएका पुराना दलहरूले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन नगरी एक्ला एक्लै मनोनयन दर्ता गराका हुन् ।
नेपालको संविधान, २०७२ जारी भएपछिको निर्वाचनहरूमा गठबन्धन र तालमेल गरी दलहरू जित सुनिश्चित गर्दै आएका थिए । प्रायः पुराना दलका नेता कार्यकर्ताले आफ्नै चुनाव चिह्नमै मतदान गर्ने सुनिश्चितता हुनुपर्नेमा पार्टीमा दवाव दिँदै आएका थिए ।
निर्वाचनपूर्व कुनै पनि रुपमा दलीय गठबन्धन गर्नु सत्ता स्वार्थ केन्द्रित हुने र त्यस्ता खालका गठबन्धन गर्न नहुने विषयमा दलहरुबीच आन्तरिक आवाज बलियो बन्दै गएपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विघटित संसदमा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दल गठबन्धन नगरी निर्वाचनमा होमिएका हुन् ।
निर्वाचनमा एक्ला एक्लै भाग लिँदा सबैभन्दा बढी दलहरूलाई आन्तरिक जीवनमा फाइदा पुर्याउने र कुन दलको के हैसियत हो भन्ने कुरा पनि दलहरूले आफ्नै चुनाव चिन्हमा मत पाउँदा उनीहरूको वास्तविक शक्ति र जनविश्वासको परीक्षण हुने देखिन्छ । राजनीतिक विश्लेषक चन्द्रकिशोर प्रत्येक प्रत्येक दलमा एक्लै चुनाव उठ्नु पर्छ र आफ्नै बलबुतामा चुनाव लड्नुपर्छ भन्ने दवाव रहेको र यसले दलहरूलाई आफ्नो परीक्षणका लागि पनि फाइदा पुग्ने बताउछन् ।
उनी भन्छन् “विगतमा चुनावभन्दा अघि नै गठबन्धन गर्दाखेरि प्रत्येक राजनीतिक दलको आ–आफ्ना आधार क्षेत्रमा समेत आफ्ना उम्मेदवारलाई भोट हाल्न नपाउने विषयमा असन्तुष्टि थियो जसका कारण पनि दलहरूले यस पटक गठबन्धन गरेनन् । यसले दलहरूको आन्तरिक जीवनमा फाइदा पुर्याउछ ।”
लोकतन्त्रमा निर्वाचनपछि सत्ता समीकरणका लागि दलहरुबीच गठबन्धन हुन सक्ने भएपनि चुनावपूर्व नै गठबन्धन हुनु चाही उचित र प्राकृतिक नभएको र पछिल्लो समय देखिएको विचारहिनताको राजनीति दलहरुबीचको गठबन्धनको राजनीतिको सह उत्पादन भएकोले यसपटक त्यो सच्चिने विश्लेषक चन्द्रकिशोरको भनाई छ ।
गठबन्धन गर्दा दलहरूको प्रभाव विस्तार, दलहरूको सिद्धान्त, निष्ठा कमजोर हुन्छ र अहिले जुन विचार हीनताको राजनीति आएको छ त्यो गठबन्धनको राजनीतिको पनि सह उत्पादन थियो भन्छन् विश्लेषक चन्द्रकिशोर ।
विचार एउटा हुने प्रतिबद्धता एउटा हुने र मतदान अर्कोलाई गर्नुपर्ने कारण दलका कार्यकर्ता र आम जनतासमेत निराश थिए ।
गठबन्धन वा तालमेल नगरी एक्लाएक्लै चुनाव लड्दा राजनीतिक स्थिरता आउँछ भनेर भन्न सक्ने अवस्था नरहेपनि यसले राजनीतिक पार्टीका जनआधार र धरातलको भने स्पष्ट चित्र आउने बताउछन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल । उनी भन्छन् “गठबन्धन नगरी जाँदा कुन पार्टीको जनाधार के रहेछ भन्ने कुराको स्पष्ट चित्र आउँछ र यसपाली राजनीतिक दलहरूले चुनावपूर्व गठबन्धन गरेनन् या गर्ने वातावरण बनेन यसो भन्दैमा राजनीतिक स्थिरता हुुन्छ भन्ने होइन ।
चुनावपछि कुनै पार्टीको बहुमत आएन भने निर्वाचन पछिको गठबन्धनको सम्भावना रहँदै रहँदैन भन्ने पनि होइन, चुनावी लहर ठुलै आयो कुनै एक दलले बहुमत ल्यायो भने त्यो पार्टी कै सरकार बन्ला तर त्यो नभएको अवस्थामा दलीय व्यवस्थामा गठबन्धन गरेर मात्रै सरकार बन्ने अवस्था रहन्छ ।”
यसअघि चुनाव अगाडी नै गठबन्धन गरी झन्डै दुई तिहाइ मत हासिल गरेका दलहरूसमेत छुट्टिएर फरक–फरक रुपमा सत्ता सङ्घर्षमा लागेका कारण दलहरूप्रति एक प्रकारको वितृष्णा देखिन थालेको थियो । तर विश्लेषकहरू अझै पनि दलहरुबीच गठबन्धन हुँदैन होला भन्ने अवस्था टरिनसकेको बताउछन्।
विगतमा सत्ता स्वार्थ केन्द्रित गठबन्धनले गर्दा छोटै समयमा पटक–पटक सरकार परिवर्तन भएका कारण मुलुकले राजनीतिक स्थिरता पाउन सकिरहेको थिएन, जसले गर्दा सर्वसाधारणमा निराशा उत्पन्न हुँदै आएको थियो । सम्भवतः जनताको मनोभाव बुझेर हुनसक्छ यसपटक दलहरू चुनाव पूर्व गठबन्धन नगरी निर्वाचनमार्फत आफ्नो वास्तविक परीक्षणका लागि तयार भएका छन् ।
