कुन बीमा कम्पनीको चुक्तापुँजी कति ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको चुक्ता पुँजीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । बीमा ऐन, २०७९ को दफा ३५ को व्यवस्था बमोजिम प्राधिकरणले बीमा कम्पनीहरूको चुक्तापुँजी सार्वजनिक गरेको हो ।
बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको लागि ५ अर्ब, निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब, पुनर्बीमा कम्पनीको २० अर्ब र लघु बीमा कम्पनीको ७५ करोड न्यूनतम चुक्ता पुँजी निर्धारण गरेको छ ।
प्राधिकरणले निर्धारण गरेको पुँजी जीवन बीमा कम्पनीहरूको हकमा राष्ट्रिय जीवन बीमाबाहेक सबै कम्पनीले पुर्याउन सफल भइसकेका छन् । प्राधिकरणले आज मात्रै अद्यावधिक गरेको विवरणअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको चुँक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको पनि चुँक्तापुँजी ९ अर्ब रुपैयाँ बढी छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार हिमालयन लाइफको चुक्तापुँजी ९ अर्ब १४ करोड रुपैयाँ छ । नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ५ अर्ब ४७ करोड, लाइफ इन्स्योरेन्स कम्पनीको ५ अर्ब ५० करोड, एशियन लाइफ इन्स्योरेन्सको ५ अर्ब ११ लाख, सूर्यज्योति लाइफ ५ अर्ब १ करोड १९ लाख रुपैयाँ छ ।
त्यस्तै, रिलायबल नेपालको ५ अर्ब १९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी ५ अर्ब १० करोड, सन नेपाल लाइफको ५ अर्ब ३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफ ५ अर्ब १ करोड रुपैयाँ, सिटिजन्स लाइफ ५ अर्ब र आईएमई लाइफ इन्स्योरेन्सको ५ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको छ ।
चार निर्जीवन बीमा कम्पनीले अझै जुटाउन सकेनन् न्यूनतम चुक्तापुँजी
प्राधिकरणले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार अझै चार निर्जीवन बीमा कम्पनीले तोकिएको न्यूनतम चुक्तापुँजी जुटाउन सकेका छैनन् ।
राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड, सानिमा जिआईसी र प्रभु इन्स्योरेन्सको अझै चुक्तापुँजी साढे दुई अर्बभन्दा कम नै छ । राष्ट्रिय बीमा कम्पनीको २६ करोड रुपैयाँ, युनाइटेड अजोडको २ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसीको २ अर्ब १५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सको १ अर्ब ७० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी ३ अर्ब २ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स २ अर्ब ५४ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ अर्ब ५० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको २ अर्ब ६९ करोड रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योन्स (सलिको) को २ अर्ब ६२ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २ अर्ब ९२ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
पुनर्बीमा कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १० अर्ब ८६ करोड रुपैयाँ रहेको छ । लघु बीमा कम्पनीहरूको न्यूनतम चुक्तापँजी ७५ करोड तोकिएको छ ।
लघु बीमा कम्पनीहरूमा नेपाल माइक्रो इन्स्योरेन्सको ७५ करोड रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७५ करोड रुपैयाँ, प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्सको ५२ करोड ५० लाख रुपैयाँ, क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्सको ७५ करोड रुपैयाँ चुक्तापुँजी पुगेको छ ।
त्यस्तै, लिवर्टी माइक्रोको ५२ करोड ५० लाख रुपैयाँ, स्टार माइक्रोको ५२ करोड ५० लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
बीमा ऐन, २०७९ को दफा ३६ अनुसार बीमकको न्युनतम चुक्तापुँजी प्राधिकरणले समयसमयमा निर्धारण गरे बमोजिम हुने छ । सोही दफाअनुसार प्राधिकरणले मुलुकको वित्त वा पुँजी बजारको स्थिति, बीमकको वित्तीय अवस्थाको आधारमा अवधि तोकी बीमकलाई चुक्तापुँजी बढाउन आवेदन दिन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार तोकिएको अवधिमभित्र बीमकले चुक्तापुँजी कायम गर्नुपर्नेछ ।
प्राधिकरणले तोकिएको पछिल्लो समय २०८१ असार मसान्तसम्म थियो । तोकिएको अवधिमा चुक्तापुँजी पुर्याउन नसक्ने कम्पनीहरूलाई ऐनअनुसार प्राधिकरणले कारवाही गर्ने व्यवस्था छ । यद्यपि प्राधिकरणले न्यूनतम चुक्तापुँजी नपुर्याउने कम्पनीलाई कारबाहीभन्दा पनि पुँजी बढाउन निर्देशनमात्रै दिँदै आएको छ ।
दफा ३६ को (४) उपदफाअनुसार तोकिएको चुक्तापुँजी कायम गर्न नसक्ने बीमा कम्पनीको इजाजतपत्र प्राधिकरणले निलम्बन गर्न सक्ने व्यवस्था छ ।
