बिहीबार १५ माघ, २०८२

नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने

नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने

काठमाडौं। नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आइसिटी फ्रेम (ICT Frame) ले टेक-एक्स (TechX) सँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ (ITPCA 2026)’ आयोजना गर्ने घोषणा गरेको छ।

“नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नारासहित राष्ट्रिय स्तरमा आयोजना हुन लागेको यस प्रतियोगिता शनिबार, २ मे २०२६ (१९ वैशाख २०८३) मा सम्पन्न हुनेछ। प्रतियोगिताले देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता तथा उदीयमान प्रविधि नेताहरूलाई आफ्ना नवीन परियोजना र सीप प्रस्तुत गर्ने सशक्त मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।

अवार्डको औपचारिक उद्घाटन लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा उहाँले परियोजनामा आधारित शिक्षाको महत्त्व औंल्याउँदै उद्योगमैत्री स्नातक उत्पादन र युवालाई आत्मविश्वासी प्रविधि नेता बनाउन यस्ता पहल अपरिहार्य रहेको बताउनुभयो।

यस प्रतियोगिताको अवधारणात्मक रूपरेखा साइबर सुरक्षा विज्ञ तथा वान कभर प्रा. लि.का सीईओ चिरञ्जीवी अधिकारीले तयार पार्नुभएको हो। उहाँका अनुसार प्रतियोगितामा परियोजनाको मूल्याङ्कन योग्यता, प्रभाव र दीर्घकालीन सम्भावनाका आधारमा गरिनेछ, जसले विद्यार्थीलाई कक्षाकोठाको सीमाभन्दा बाहिरको व्यावसायिक संसारसँग जोड्नेछ।

नेपाली प्रविधि क्षेत्रका युवाहरूले यस प्रतियोगितालाई आफ्नो करियरको महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएका छन्। आइसिटी फ्रेम र टेक-एक्सको सहकार्यले नेपालको डिजिटल रूपान्तरणलाई गति दिँदै डिजिटल इकोसिस्टम सुदृढ बनाउने र युवा प्रतिभाका लागि ‘लन्चप्याड’को भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।